विद्यालय प्रशासन गम्भीर नबन्दा ठूलो क्षति
चितवन - पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-५ स्थित जनक माध्यमिक विद्यालय आइतबार दिउँसो तनावग्रस्त बन्यो । आफै पढ्दै आएको विद्यालयमा विद्यार्थीहरूले आगजनी र तोडफोड गरे । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६० सेल अश्रु ग्यास हान्यो । प्रहरी निरीक्षकसहित आठ प्रहरी घाइते भए ।
शिक्षकले एक छात्रालाई अश्लील भिडियो देखाएको र अश्लील शब्द प्रयोग गरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका थिए । २८ चैतमा भएको दुर्व्यवहारको घटनालाई विद्यालय व्यवस्थापनले गम्भीर रूपले नलिँदा आइतबार अप्रिय घटना हुन पुगेको हो ।
जनक माविमा कक्षा १२ मा अध्ययन गर्ने १७ वर्षीया एक छात्रालाई सोही विद्यालयका शिक्षक ३३ वर्षीय कपिल घिमिरेले अश्लील भिडियो देखाएर यौन दुर्व्यवहार गरेको आरोप छ । यौन दुर्व्यवहारको घटनाको विषयमा ढिलो गरी थाहा पाएको विद्यालय प्रशासनले घटना बुझ्ने क्रममै रहँदा विद्यार्थीको आक्रोशले उग्ररूप लिएको हो ।
उनी विद्यालयको वातावरण बिगार्ने र अनुशासनमा नबस्ने खालको विद्यार्थी नभएको एक शिक्षकले बताए । आइतबार घटनाको विषयमा छलफलकै क्रममा रहँदा सुरक्षाका लागि विद्यालय व्यवस्थापन समितिले प्रहरीलाई विद्यालयभित्र परिचालन गरेको थियो ।
विद्यालयभित्र प्रहरी देखेपछि आक्रोशित भिड बढेको स्थानीय बताउँछन् । स्थानीय भन्छन्, ‘दोषीलाई समयमै प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गर्न भनेको भए तोडफोड र आगजनीको अवस्था हुने थिएन ।’ तोडफोड र आगजनीबाट करोड बराबरको क्षति भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज कँडेलले बताए ।
विद्यालयको विज्ञान प्रयोगशालामा पूर्ण रूपमा क्षति भएको छ । त्यस्तै, पंखा, कम्युटर ल्याब, पानीका धारा, डेस्क बेन्च, झ्याल, शिक्षकका कुर्ची सोफालगायत विद्यार्थीले तोडफोड गरेका छन् । प्रधानाध्यापक चूडामणि शर्मा कँडेलको प्र३–००२ प २७७६ र आरोपित शिक्षक घिमिरेको ना २४ प ६६१५ नम्बरको मोटरसाइकल जलेर नष्ट भएको छ ।
आरोपित शिक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी डिएपी सन्तोष पाठकले जानकारी दिए । भिडलाई नियन्त्रण गर्ने क्रममा आन्दोलन कर्ता विद्यार्थीले ढुंगामुढा गरेपछि आठ प्रहरी सामान्य घाइते भएको उनले बताए । आन्दोलन कर्ता भने घाइते नभएको उनले बताए ।
गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले घटनाको विषयमा जानकारी नदिने प्रधानाध्यापकको राजीनामा माग्ने तयारी गरेका छन् । अनुसन्धानपछि आरोप लगाइएका शिक्षक दोषी ठहरिए उनलाई बर्खास्त गर्छौँ । घटनाको जानकारी नदिने प्रधानाध्यापकसँग पनि राजीनामा माग्ने छु’, उनले भने ।

हिन्दू बनेर नेपाली नाबालिकालाई दिल्ली लैजाँदै गरेका आलम भारतीय प्रहरीको फन्द…

बौद्धमा संस्थाबीचको फेरी द्वन्द्व, गुठीको शौचालय भत्काइएपछि प्रहरीमा उजुरी

शिवनाथको नीति तथा कार्यक्रम सार्वजनिक

मितेरी सहकारी रकम प्रकरणः ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याइयो

लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

उच्चको आदेशपछि काममा फर्किए राजु पाण्डे

प्रतिक्रिया