६० वर्षपछि चाँगुनारायण मन्दिरमा रंगरोगन

काठमाडौं – विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिरमा ६० वर्षपछि रंगरोगन गरिने भएको छ ।
पुरातत्व विभागको अनुमतिमा चाँगुनारायण विकास समितिले यही वैशाखदेखि रंगरोगन गर्ने भएको हो । समितिका सचिव तथा अधिवक्ता श्रीभक्त भडेलका अनुसार २०१८ सालमा राजा महेन्द्रले चाँगुनारायण मन्दिरको रंगरोग गरेका थिए । ‘त्यो बेला (२०१८ साल) लगाइएको रंग अझै छ, तर जीर्ण बन्दै गएकाले पूर्ण रुपमा गर्नुपरेको हो,’ सचिव भडेलले इकागजलाई बताए, ‘२०१८ सालमा जस्तो लगाइएको हो, हामी त्यस्तै रंग लगाउनेछौं ।’
रंग लगाउँदा इनामेल नलगाइने बरु प्राकृतिक रंग लगाइने उनले बताए । पशुपतिनाथ, बागेश्वरी र हाँडीगाउँमा रंग लगाएका ५५ वर्षीय कलाकार राजेन्द्र चित्रकारले रंग लगाउने तय भएको छ ।
पूर्ण रुपमा रंग लगाउँदा ३६ लाख रुपैयाँ खर्च हुने अनुमान छ । अनुमानित लागतमध्ये बागमती प्रदेशको भौतिक तथा शहरी विकास मन्त्री कृष्ण भडेलले २५ लाख रुपैयाँ उपलब्ध गराएको सचिव भडेलले बताए । उनले सांसद विकास कोषबाट उक्त रकम जुटाएका हुन् ।
बाँकी खर्च चन्दा उठाएर गर्न लागेको समितिले जनाएको छ । चाँगुनारायण नगरपालिकाले ९ सयजना ज्यामी खर्च ६ लाख ५० हजार रुपैयाँ दिने भडेलले बताए । पुरातत्व विभाग र नगरपालिकाको प्रतिनिधिको रोहबरमा रंगरोगन हुनेछ ।
धेरै पुरानो रंग भएकाले काष्ठकला जीर्ण बन्दै गइरहेको छ । ‘नयाँ रंगरोगन गरेपछि ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व रहेको काष्ठकलाको सुरक्षा हुनेछ,’ भडेलले भने, ‘रंगरोगन गरेपछि आकर्षक देखिन्छ, अहिले त फुंग उडेको छ, काष्ठकला जीर्णशीर्ण देखिएका छन् ।’ मन्दिरमै परेबाका गुँडहरु रहेकाले तिनले बिष्ट्याउँदा फोहोर हुने र काष्ठकला नष्ट हुने क्रममा पुगेको छ । समितिले परेबाको गुँड अन्तै सार्ने भएको छ ।
मन्दिरको चारैतिर विभिन्न देवी देवताका कलात्मक काष्ठ मूर्तिहरु छन् । मन्दिरमा काठ, ईंटा र प्रस्तर (ढुंगा) र धातुको प्रयोग गरी बनाइएको छ । नेपालको मौलक प्यागोडा शैलीमा निर्मित यस मन्दिर मध्यकालमा राजा शिव सिंहकी रानी गंगारानी र १८ औं शताब्दीको सुरुमा कान्तिपुरका भाष्कर मल्लको शासनकालमा जीर्णाेद्धार भएको थियो ।
२०७२ साल वैशाख १२ र २९ गते आएको भूकम्पले मन्दिरमा नराम्रो क्षति पुगेको थियो । मन्दिरको जीर्णाेद्धार भने भइसकेको छ । मन्दिरको चौघेरा सत्तलहरु आधाभन्दा बढी पुनः निर्माण भएको छ ।
लिच्छवीकालीन यो इसापूर्व ३२३ मा राजा हरित्त बर्माले बनाएको इतिहास छ । भक्तपुर नगरबाट ६ किलोमिटर उत्तरमा रहेको यस मन्दिरमा विभिन्न जात्रा पर्वमा भक्तजनहरुको ठूलो भीड लाग्ने गर्छ भने विश्वका विभिन्न देशबाट पर्यटकहरु समेत आउने गर्छ ।
चाँगुनारायण मन्दिरमा आउने विदेशी पर्यटकहरुसँग नगरपालिकाले वार्षिक साढे तीन करोड रुपैयाँभन्दा बढी पर्यटक शुल्क असुल्छ । नगरपालिकाले ठेक्कामार्फत पर्यटक शुल्क लिंदै आएको छ ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

हिन्दू बनेर नेपाली नाबालिकालाई दिल्ली लैजाँदै गरेका आलम भारतीय प्रहरीको फन्द…

बौद्धमा संस्थाबीचको फेरी द्वन्द्व, गुठीको शौचालय भत्काइएपछि प्रहरीमा उजुरी

शिवनाथको नीति तथा कार्यक्रम सार्वजनिक

मितेरी सहकारी रकम प्रकरणः ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याइयो

लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

प्रतिक्रिया