बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

वालिङ जीप दुर्घटना : मृतक पाँचै जनाको सनाखत

पोखरा - स्याङजामा भएको जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको परिचय खुलेको छ । मृतकमध्ये ७ महिने बालक र उनकी आमासहित ४ जना वालिङ नगरपालिका १२ डाँडाखर्क गाउँका रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । एक जना वालिङ १४ कि छिन् भने ६ जना घाइते सबै  डाँडाखर्कको रहेका छन् । 

दुर्घटनामा परी ६५ वर्षीय विरबहादुर दाला, ४५ वर्षीया हिरा दाला, २५ वर्षीय शर्मीला सारु, उनका ७ महिनाका छोरा र वालिङ १४ की ६१ वर्षीया कुलकुमारी कनौजेको मृत्यु भएको उनले जानकारी दिए । 

घाइतेहरू सबै सोही गाउँको रहेको प्रहरीले जनाएको छ । वालिङ १२ का अंगबहादुर दाला, मायाकुमारी सारु, योगेन्द्र थापा, नविना सारु मगर, लक्ष्मी दाला र चालक दलबहादुर थापा घाइते भएका छन् । घाइतेलाई वालिङमा उपचार सम्भव नभएपछि पोखरा रिफर गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए । 

वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित आइतबार बिहान १०:३५ बजे दुर्घटना भएको थियो । डाँडाखर्कबाट वालिङ बजारतर्फ छुटेको ग १ ज ७३९९ नम्बरको जीप दुर्घटना भएको उनले बताए । 

मृतकहरू सबै वालिङकै भएको हुनसक्ने भए पनि परिचय खुलाउने काम भइरहेको उनको भनाइ छ । जीप सडकबाट झण्डै २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।