गभर्नर निलम्बनको विरोधमा राष्ट्र बैंकका कर्मचारी आन्दोलित

काठमाडौँ- सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरेको निलम्बनको विरोधस्वमा कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिले बैंकको केन्द्रीय कार्यालय बालुवाटार परिसरमा कालो ब्यानर झुण्डाउँदै कोणसभा गरेको हो।
राष्ट्र बैंकको केन्द्रीय कार्यालय लगायत उपत्यका बाहिरका सम्पूर्ण कार्यालयहरूमा झुण्ड्याइएको कालो ब्यानरमा 'केन्द्रीय बैंकको स्वायत्तता माथिको नाङ्गो हस्तक्षेप बन्द गर', 'निराधार तथा कपोलकल्पित आरोपमा गभर्नर अधिकारी माथि शुरु गरिएको कारबाही प्रक्रिया अबिलम्ब फिर्ता गर' र 'सङ्कटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्धारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर' भन्ने नाराहरू समावेश गरिएको छ।
कोणसभालाई सम्बोधन गर्दै बैंक कर्मचारी संघका केन्द्रीय अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले राज्य संचालकहरू वित्तीय प्रणालीको दुरुपयोग गरी गलत क्रियाकलापमा लिप्त वित्तीय माफियाहरूको चंगुलमा फस्नाले राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमण हुने गरेको बताए।
हालको गभर्नर माथिको आक्रमण नयाँ नभई यो भन्दा अगाडि पनि राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमणहरू हुने गरेको स्मरण गर्दै अध्यक्ष तिम्सिनाले केन्द्रीय बैंकको नेतृत्व माथि हुने गरेका आक्रमणका बेला बैंक कर्मचारी संघ केन्द्रीय बैंकको स्वायत्तताको रक्षाका लागि विरोधमा उत्रेको बताए।
यस अघि पनि केन्द्रीय बैंकका गभर्नरहरू क्रमशः कल्याणविक्रम अधिकारी, तिलकबहादुर रावल र विजयनाथ भट्टराईलाई तत्कालीन सरकारले गरेको बर्खास्ती तथा निलम्बनको विरोधमा नेपाल राष्ट्र बैंकका कर्मचारीहरू अख्तियारदेखि अदालतसम्म गएर आन्दोलन गरेको अनुभव आफूहरूसँग भएको बताउँदै तिम्सिनाले गभर्नर माथि गरिएको कारबाही फिर्ता लिन नेपाल सरकारलाई अनुरोध गरे।

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिना लगानी फोनबाटै आम्दानी!

सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

सुनचाँदीमा लगाइएको विलासिता करको विरोधमा काठमाडौँमा प्रदर्शन (भिडियो)

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

प्रतिक्रिया