मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

आगामी पाँच वर्षमा नेपालमा १.१५ अर्ब डलर अनुदान खर्चिदैं अमेरिका

अमेरिकाको ट्रेजरी डिपार्टमेन्ट

काठमाडौँ– अमेरिकी सहयोग नियोग (युएसएड) को सहायतामा ठूलो ‘ब्रेक थ्रु’ भएको छ । अमेरिकी सहयोगको अधिकांश हिस्सा बजेटबाहिर र ट्रेजरीबाहिर खर्च हुँदै आएको भनेर आलोचना हुने गरेकोमा युएसएडले नेपालमा गर्ने खर्च अब बजेटभित्र रहेर गर्ने भएको हो । 

अर्थ मन्त्रालय आर्थिक सहायता समन्वय महाशाखाका अनुसार युएसएडले नेपाललाई आगामी पाँच वर्षमा ६५ करोड ९० लाख अमेरिकी डलर अनुदान दिने भएको हो । यो अनुदान सबै बजेटमा समावेश भई बजेटको प्राथमिकताका आधारमा सरकारका कार्यक्रम/परियोजनामा खर्च हुने अर्थसचिव मधुकुमार मरासिनीले बताए । 

त्यस्तै, प्रत्यक्ष खरिद गर्नुपर्ने प्रकृतिका बाहेकका अनुदानको हिस्सा पनि बजेटमार्फत् सरकारले खर्च गर्नेछ । अर्थात, यी खर्चको भुक्तानी पनि सरकारी बजेट खर्चमा जस्तै कोष तथा लेखा नियन्त्रक कार्यालयबाट कार्यक्रम सम्पन्नताका आधारमा ठेकेदार, परामर्शदाता, आपूर्तिकर्तालाई भुक्तानी हुनेछ । 

प्रत्यक्ष हुने खरिद (अफ ट्रेजरीतर्फ) मा पनि सम्बन्धित मन्त्रालयको समन्वयमा खरिद हुने बताइएको छ । 

अर्थ मन्त्रालयका अनुसार, पछिल्लो समय युएसएडको नेपालमा वार्षिक सहयोग साढे ९ करोड अमेरिकी डलरको हाराहारीमा थियो । आर्थिक वर्ष २०७६/७७ को ‘डेभलपमेन्ट कोअपरेसन रिपोर्ट’ मा युएसएडको सहयोगमध्ये ४.६ प्रतिशतमात्र बजेटमा आधारित (अन बजेट) रहेको उल्लेख छ । ९ करोड ५२ लाख डलर सहयोगमध्ये ८१.६ प्रतिशत प्राविधिक सहायताको रूपमा र १८.४ प्रतिशत नगद अनुदान रहेको देखिन्छ । 

नेपालमा अमेरिकी सहयोग निकाय एमसीसी (मिलेनिअम च्यालेन्ज कर्पोरेसन) अन्तर्गत आगामी पाँच वर्षमा ५० करोड अमेरिकी डलर सहायता उच्च क्षमताको विद्युत प्रसारणलाइन र सडक निर्माणमा खर्च हुँदैछ । युएसएडको अनुदान समेत जोड्दा आगामी पाँच वर्षमा अमेरिकाले नेपालमा एक अर्ब १५ करोड ९० लाख डलर अनुदान खर्च गर्दैछ ।