नेपालको कला विश्वकै चिनारी: उपराष्ट्रपति

काठमाडौँ - उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली कला विश्व कै चिनारी भएको बताएका छन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आजदेखि सुरु भएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी, २०७९’ को उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपाल प्राकृतिक, सांस्कृतिक र कलाले समृद्ध रहेकाले विश्वकै लागि पहिचान भएको बताए ।
उनले राष्ट्रिय विभूति अरनिकोदेखिका कलाकारले कलाका माध्यमबाट विश्वमा नेपालको शिर उँचो बनाउने काम गरेको स्मरण गरे । उपराष्ट्रपति पुनले विश्वका जुनसुकै कुनामा पनि नेपाली कला पुगेकोमा खुसी व्यक्त गरे ।
केही वर्षअघि अष्ट्रियाको भियानामा भएको एक कार्यक्रममा सहभागी हुने क्रममा नेपाली लोक, आधुनिक कला प्रदर्शनी देख्दा आफूलाई गौरवको अनुभूति भएको उनले उल्लेख गरे । उपराष्ट्रपति पुनले विश्वमा नेपालीको पहिचान स्थापित गर्नमा नेपाली कलाको महत्वपूर्ण भूमिका रहेको बताए ।
नेपाली कलाको इतिहास दुई हजार वर्षदेखि कै रहेको र परम्परागत रुपमा धर्म, संस्कार र संस्कृतिका कला रहेकामा वर्तमानमा हरेक विधामा कला सिर्जना हुँदै आएकोे उनको भनाइ थियो ।
अन्य क्षेत्रमा जस्तै नेपाली ललितकलाको क्षेत्रले पनि समस्या र चुनौती भोगिरहेको तथा कलाकारलाई टिकाउनसमेत चुनौती रहेको उनले बताए ।
ललितकलालाई बचाइ राख्न राज्यबाट आवश्यक सहयोगको खाँचो रहेको उपराष्ट्रपति पुनले औँल्याए । कला साधना भएकाले ललितकलाप्रति आफ्नो पनि रुचि रहेको सुनाउँदै उनले नेपालको चिनारी र गौरव विश्वमाझ बचाइ राख्न ललितकलाको भूमिका अहम् छ भने।
समारोहमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले एक महिनासम्म चल्ने ललितकला प्रदर्शनी कला क्षेत्रकै लागि महोत्सव भएको बताए । समारोहमा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले प्रदर्शनीमा ३६५ कलाकारका ४२६ चित्र समावेश गरिएको जानकारी दिए । रासस
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया