सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

दुई वर्ष नेपालको आर्थिक वृद्धिदर सुस्त रहने

हान्स टीमर, विश्व बैंकका अर्थशास्त्री

काठमाडौँ– विश्व बैंकले नेपाली अथतन्त्र चालु आर्थिक वर्षमा ३.७ प्रतिशत र आगामी वर्ष ४.१ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिदर प्रक्षेपण गरेका बेला विकास साक्षेदार विश्व बैंकले ३.७ प्रतिशतमा सीमित हुने अनुमान सार्वजनिक गरेको हो । 

सेवा क्षेत्रको पुनर्बहाली, कोभिड–१९ विरुद्धको खोप कार्यक्रममा प्रगतिसँगै अर्थतन्त्र क्रमशः पुनर्बहालीतर्फ अघि बढेको विश्व बैंकको प्रक्षेपण छ । यद्यपि, रुस र युक्रेनबीच युद्धको प्रभावले पहिले अनुमान गरेभन्दा आर्थिक वृद्धिदर केही सुस्त हुने भएको हो । 

आज सार्वजनिक भएको ‘साउथ एसिया इकोनोमिक फोकस रिसेपिङ नर्म्सः अ न्यू वे फर्वार्ड’ नामक प्रकाशनले दक्षिण एसिया क्षेत्रको आर्थिक वृद्धिदर सन् २०२२ मा ६.६ प्रतिशत र सन् २०२३ मा ६.३ प्रतिशतले बढ्ने अनुमान थियो । सन् २०२२ को अनुमान यसअघिको प्रक्षेपणको तुलनामा एक प्रतिशत बिन्दूले घटाइएको हो । 
दक्षिण एसियाली अर्थतन्त्रहरू वस्तुको उच्च मूल्यवृद्धि, आपूर्ति समस्या र वित्तीय क्षेत्रको जोखिमसँग संघर्षरत छन् । युक्रेनमा रुसी आक्रमणले समस्यालाई थप बढाएको छ । नेपालमासुस्त आर्थिक वृद्धिदर, उच्च मुद्रास्फिती र चालु खाता घाटा जस्ता प्रभाव देखिएका छन् । 

विश्व बैंकले नेपालको आर्थिक वृद्धिका लागि अन्तर्निहीत चुनौतीहरू सम्बन्धी अर्को सहयोगी प्रकाशन पनि प्रकाशनमा ल्याएको छ । 

युक्रेन युद्धका कारण नेपालमा वस्तुको मूल्य बढेको छ । निर्माणको लागत र उपभोक्ता मूल्यमा वृद्धि भएका कारण समग्र मागमा कमी आई आर्थिक वृद्धिदर यस वर्ष ०.२ प्रतिशतले र अर्को वर्ष ०.६ प्रतिशतले कमी आउन सक्ने विश्व बैंकको अनुमान छ । 

विश्व बैंकका अर्थशास्त्री हान्स टीमरले उच्च मूल्यवृद्धि, चालु खाता घाटा र विदेशी मुद्रा सञ्चितिमा दबाब रहेको अवस्थामा सरकारको अनुत्पादक खर्च घटाउन र खर्चको गुणस्तरमा सुधार गर्नुपर्नेमा जोड दिए । 

विश्व बैंकका नेपाल, मालदिभ्स र श्रीलंकका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले सुस्त भएपनि क्रमशः अर्थतन्त्र पुनर्बहालीतर्फ अघि बढ्नु नेपालका लागि सुखद भएको उल्लेख गरे, ‘नेपालको उल्लेख्य जलविद्युत्को सम्भाव्यताको उपयोग र पर्यटन पुनर्बहालीले नेपाललाई दीर्घकालीन हरित, उत्थानशील र समावेशी विकासको बाटोतर्फ अघि बढाउनेमा आशाको सञ्चार गराएको छ ।’

रेमिट्यान्स स्थिर रहने र सन् २०२२ मा भने नेपालले भारतले दक्षिण एसिया स्वतन्त्र व्यापार क्षेत्र अन्तर्गत विभिन्न वस्तुमा दिएको भन्सार महशुल छुटले निकासी बढ्ने विश्व बैंकको अनुमान छ । विद्युत् व्यापार, पर्यटन पुनर्बाहली लगायतले सन् २०२४ मा भने नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ ।