सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

फेवा नव वर्ष महोत्सव सुरु

पोखरा - पोखरामा १७ औं ‘फेवा नव वर्ष महोत्सव २०७९’ शुरु भएको छ । होटल संघ पोखराको आयोजनामा बुधबारदेखि लेकसाईडमा ‘सडक महोत्सव’ शुरु भएको महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले उद्घाटन गरे । 

दुई दिनसम्म चल्ने महोत्सवको खहरेचोक र ड्यामसाइड गरेर दुई ठाउँबाट एकैपटक झाँकीसहितको र्‍याली निकालिएको थियो । र्‍याली लेकसाइडको मध्य क्षेत्र अम्बोटमा पुगेर उद्घाटन समारोहमा परिणत भएको थियो । नेपाली नयाँ वर्षको अवसरमा संघले यसअघि आयोजना गर्दै आएको फेवा नव वर्ष २ वर्षसम्म कोरोनाका कारण भएको थिएन् । 

उद्घाटन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पोखरालाई पर्यटनको राजधानी बनाउन आगामी नीति तथा कार्यक्रममा समेट्ने बताए । उनले पोखराको टुरिजम कोभिडका कारण धरायाशी बनेको भन्दै यसको पुनरुत्थानका लागि मेलामहोत्सवले सघाउ पुग्ने बताए । पोखरामा सम्पन्न हुन लागेको एड्भेञ्चर टुरिजम मार्टका लागि आफ्नो मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाए । रत्न मन्दिर र हिमागृह नयाँ वर्षभित्र संचालनमा ल्याइने उनले प्रतिबद्धता व्यक्त गरे । यी क्षेत्र सर्वसाधारणका लागि खोल्न तीव्र माग रहँदै आएको छ । सर्वसाधारणका लागि खोल्ने भन्ने वाक्यांश नभनी उनले संचालनमा ल्याइने बताए । 

उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल ५ महिनाभित्र संचालनमा आउने दाबी गरेका छन् । विमानस्थल ९३ प्रतिशत निर्माण भइसकेको जानकारी गराउँदै मन्त्री आलेले विमानस्थल संचालनका लागि अवरोधका रुपमा रहेको रिठ्ठेपानी डाँडो काट्ने काम फास्ट ट्रयाकमा अगाडि बढ्ने बताए । उनले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सल्लाह गरेर डाँडो काट्ने काम छिटै अगाडि बढाउने आश्वासन दिए ।  ल्यान्डफिल साइट नयाँ स्थानमा व्यवस्था गर्न समेत उनले पोखरा महानगरलाई निर्देशन दिए । यस्तो काम छिटो गरे विमानस्थल समयमै संचालनमा ल्याउन सहज हुने उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेश सांसदद्वय राजीव पहारी र दीपक कोइराला, होटल संघ नेपालका केन्द्रीय सदस्य एवं आयोजक संघका सल्लाहकार भरतराज पराजुली, पोखरा पर्यटन परिषद अध्यक्ष गोपिबहादुर भट्टराई, नेपाल पत्रकार महासंघ गण्डकी महासचिव गोविन्द सुवेदी, आयोजक संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ, संघका महासचिव राजेन्द्र ढकाल, नमुना आमा समूह अध्यक्ष जूना अधिकारीले पनि भनाइ राखेका थिए ।  

महोत्सवका मुख्य आकर्षणका रुपमा विभिन्न खानाका परिकार, विविध सांस्कृतिक झाँकी, ख्याती प्राप्त कलाकार तथा स्थानिय कलाकारहरुको प्रस्तुती, लोकदोहोरी, हास्यव्यङ्ग्य, नृत्य, लाइभ कन्सर्टलगायत रहेका छन् । लेकसाइडका तीन किलोमिटर क्षेत्रमा रहेका होटलहरुले होटल बाहिर नै निकालेर स्टल राखेका छन् ।

महोत्सवलाई रौनकता थप्न अम्बोट र सेन्टर प्वाइन्ट चोकमा दुई वटा ठूला स्टेज बनाइएको छ । जहाँ दिउँसो लोकदोहोरी, हास्यव्यङ्ग्य, नृत्य तथा साँझमा लाइभ पप कन्सर्ट आयोजना गरिएका छन् । त्यस्तै, महोत्सव हुने तीन किलोमिटर क्षेत्रमा पर्ने ६ वटा चौतारीमा पञ्चेबाजा, रत्यौली, भजन, चुड्कालगायतका कार्यक्रम राखिएको संघका अध्यक्ष लक्ष्मण सुबेदीले बताए । महोत्सवमा यस वर्ष निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । सडकमा महोत्सव हुने भएकाले लेकसाईडका बाटोमा दुई दिन सवारी आवतजावतमा रोक लगाइएको अध्यक्ष सुबेदीले जानकारी दिए ।