सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

पदयात्रा पर्यटनमा सकारात्मक सङ्केत

फाइल तस्‍बिर

 गण्डकी- कोरोनाका कारण सुस्ताएको पदयात्रा पर्यटनले गति लिन थालेसँगै यस क्षेत्रमा लाग्ने व्यवसायी उत्साहित बनेका छन् ।पछिल्ला दिनमा पदयात्रा पर्यटनमा आकर्षक गन्तव्यका रुपमा स्थापित बन्दै गएका अन्नपूर्ण आधार शिविरको पदयात्रा होस वा मर्दी हिमालको पदयात्राका लागि दैनिक ठूलै सङ्ख्यामा पदयात्री जाने गरेका छन् । पछिल्ला दिनमा स्वदेशी पर्यटकसँगै विदेशी पर्यटक पनि पदयात्राका लागि आउन थालेसँगै पदयात्रा मार्गका व्यवसायीमा उत्साह थपिएको छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङले बताए ।    
    
समुद्री सतहबाट चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्राका लागि युरोपियन, इटालियनलगायत स्थानका विदेशी पर्यटक आउन थालेको उनले बताए। पछिल्ला समयमा कोरोना सङ्क्रमणको दर घट्दै गएको र जनजीवन सामान्यावस्थामा फर्किंदै गरेको अवस्थामा फागुनको अन्तिम सातादेखि नै पर्यटकको चाप बढ्दै गएको उनले जानकारी दिए।    
    
उनका अनुसार पदमार्गअन्तर्गतका होटेल सबै स्थानमा खुली पर्यटकको सेवामा लागेका छन् । हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमाल अन्नपूर्णको काखमा गरिने गरिने पदयात्रा विश्वका उत्कृष्ट पदयात्रामध्ये पर्छ । सर्वप्रथम सन् १९५० जुन ३ मा फ्रान्सका हिमाल आरोही मौरिस हर्जोगले अन्नपूर्ण प्रथम (८,०९१) को सफल आरोहण गरेसँँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हो । सो सफलतासँगै सन् १९५३ मे २९ मा सर्वप्रथम तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।    
    
अन्नपूर्ण पदयात्रा मार्गअन्तर्गत अन्नपूर्ण आधार शिविरको पदयात्रा मार्गका योजनाकार कर्णेल जिम्मी रवर्टस (बेलायत) हुन् । उनले सन् १९६५÷६६ मा अन्नपूर्ण आधार शिविरको पदयात्रा मार्गबारे दैनिकी लेखेका थिए । समुद्र सतहदेखि चार हजार १३० मिटरमा अवस्थित अन्नपूर्ण आधार शिविर पदयात्रा मार्गको पहिलो यात्री एरिक सिप्टन (१९६६) हुन् । उनले गरेको पदयात्रासँगै यस क्षेत्रको पदयात्रामा आकर्षण बढ्दै गएको हो । तथ्याङ्कानुसार नेपाल आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशत पदयात्राका लागि नै आउने गर्छन् । त्यस्तै १० प्रतिशत हिमाल आरोहण र २० प्रतिशत अन्य पर्यटक यस क्षेत्रको भ्रमणमा आउने गर्छन ।    
    
आजभन्दा चार दशकअघिसम्म अन्नपूर्ण आधार शिविर जाने पर्यटक भेडीगोठ र स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडी बस्नुपथ्र्याे । पछिल्लो तीन दशकयता पदयात्रा मार्गमा पर्याप्त होटल नरहे पनि यहाँका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ्र«े आधार शिविर र अन्नपूर्ण आधार शिविरमा हाल २६ होटेल सञ्चालनमा रहेकोमा पछिल्ला समयमा ती होटेलको क्षमता विस्तारसँगै नयाँ होटेल खोल्ने क्रम पनि सुरु भएको छ ।