फोहोर व्यवस्थापन गर्न अझै केही दिन लाग्ने

काठमाडौँ - दश दिनपछि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम सुरु भए पनि यसअघि थुप्रिएको सबै फोहरलाई अन्तिम विसर्जनस्थलसम्म पुर्याउन अझै केही दिन लाग्ने जनाइएको छ ।
तारकेश्वर नगरपालिकाको मुड्खु–तीनपिप्ले सडकखण्डका बासिन्दाले सडक कालोपत्रे गर्न ढिलाइ भएको भन्दै काठमाडौँ उपत्यकाबाट फोहर व्यवस्थापन लागि सिसडोल जान रोकेका थिए । सोमबारदेखि फोहोरको गाडी सिसडोल जान थालेको भए पनि लामो समयदेखिको रोकिएको फोहर व्यवस्थापन हुन भने समय लाग्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
स्थानीय र ठेकेदार कम्पनीबीच सडक मर्मतको काम तत्काल गर्ने सहमति भएपछि सोमबारदेखि फोहर लान थालिएको हो । पछिल्लो समय १० दिन फोहर नउठेको भए पनि गत फागुनमा पनि स्थानीयको अवरोधका कारण १९ दिन फोहर सडकमै रह्रयो । गत फागुन १ देखि पनि तीन पिप्लेका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै १२ दिन अवरोध गरेका थिए । फागुन अन्तिम साता सिसडोल र बञ्चरेडाँडाका स्थानीयले एक हप्ता फोहोर फाल्न रोकेका थिए भने गत १८ चैतमा फेरि अवरोध भएको हो ।
आठ वर्षअघि शैलुङ कन्स्ट्रक्सनले ठेक्का लिएको नुवाकोट जाने पासाङल्हामु राजमार्ग सडक अहिलेसम्म बनाएको छैन । समयमा नै काम नभएको भन्दै स्थानीय बासिन्दाले गरेको अवरोधका कारण यही चैत १८ गतेदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहका फोहर व्यवस्थापन हुन नसकेको हो ।
कामपा वातावरण विभाग प्रमुख सरिता राई हाल फोहर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको बताउँछन् ।
हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिक टन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् । रासस

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया