सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

रोकिएन सेयर बजार घट्नेक्रम, परिसूचक २३८५ विन्दुमा

काठमाडौँ -  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबारको कारोबारमा पनि घटेको छ। साताको दोस्रो कारोबारमा ३४ अंकले घटेको हो । आइतबार बन्द रहेको बजार सोमबार ४५ अंकले घटेको छ। ३४.७८ अंकले बजार घटेर समग्र बजार परिसूचक २३८५ अंकमा ओर्लिएको छ।

मंगलबार २४१९.७१ अंकबाट सुरु भएको बजार बन्द हुने बेलामा २३८५.०२ अंकमा ओर्लिएको छ। अर्थात आज नेप्से परिसूचक १.४४ प्रतिशत तथा 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक १.२१ प्रतिशत अर्थात ५.५२ अंकले घटेर ४४९ दशमलव ३६ अंकमा ओर्लिएको छ ।

३४ अंकले बजार घट्दा कारोबार रकम पनि उल्लेख्य रूपमा कमी आएको छ। कारोबार भएका २ सय ३७ कम्पनीको सेयर कारोबारमा १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४ सय १८ रूपैयाँ बराबरको ३७ लाख ८३ हजार २४ कित्ता सेयर ३१ हजार ५ सय ७६ पटकको कारोबारमा खरिद बिक्री भएको छ ।

समूहगत परिसूचकमा आज होटेल र पर्यटन समुह नगन्य रूपमा बढ्दा अन्य सबै समुहको सेयर मूल्य घटेको छ। होटल र पर्यटन क्षेत्र ०.१ प्रतिशतले बढेको थियो। घट्नेमा अन्य समूह २ दशमलव ३३ प्रतिशत, फाइनान्स समूह २ दशमलव ४ प्रतिशतले घटेको छ।

 बजार घट्दा आज कारोबार भएका जम्मा १३ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ७७ कम्पनीको सेयर मूल्य घटेको छ । आजको कारोबारमा नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्यले सर्किट ब्रेक लागेको छ। आज नेष्डो १८७ रूपैयाँले बढेर २ हजार ५७ मा पुगेको छ।

अन्य बढी कमाउने कम्पनीमा एनआइसी सेलेक्ट फण्ड , प्राइम डिबेन्चर, नेपाल इन्भेष्टमेन्ट डिवेन्चर, मञ्जुश्री फाइनान्स डिबेन्चर लगायतका कम्पनी रहेका छन् ।

आजको कारोबारमा सर्वाधिक गुमाउने पाँच कम्पनीमा इमर्जिङ नेपाल, न्यादी हाइड्रो पावर लिमिटेड, घेलम्दी हाइड्रो,  राष्ट्र उत्थान लघुवित्त, हिमाल दोलखा हाइड्रो पावर कम्पनी रहेका छन् ।