सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

निजी क्षेत्रको सहयोगविना आर्थिक विकास सम्भव छैन : सभामुख सापकोटा

काठमाडौँ - सभामुख अग्निप्रसाद सापकोटाले आर्थिक विकास निजी क्षेत्रको सहभागिता र सहयोगविना सम्भव नहुने भएकाले निजी क्षेत्रले उठाएका आवाजलाई सरकारले गम्भीरता पूर्वक लिनुपर्ने बताएका छन्। 

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५६ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०७८ को आज एक विशेष समारोहका बीच काठमाडौंमा उद्घाटन गर्दै उक्त कुरा बताएका हुन्।

समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सभामुख सापकोटाले मुलुकको आर्थिक विकासमा सरकार निजी क्षेत्र एकै रथका दुुई पाङ्ग्रा भएको बताए । आर्थिक विकास निजी क्षेत्रको सहभागिता र सहयोग विना सम्भव नहुने भएकाले निजी क्षेत्रले उठाएका आवाजलाई सरकारले गम्भीरता पूर्वक लिनुुपर्नेमा सभामुखको जोड थियो ।

मुलुकको अर्थतन्त्र, रोजगारी, पूँजी निर्माण, लगानी आकर्षणका महत्वपूर्ण आधार निजी क्षेत्रलाई सधै उच्च प्राथमिकतामा राख्नुपर्नेमा सापकोटाको भनाइ छ । यो राष्ट्रका लागि तपाईंहरुको योगदान कति महत्वपूर्ण छ भन्ने कुरालाई आफूले राम्रो बुझेको भन्दै उनले आफ्नो तर्फबाट निजी क्षेत्रका समस्या समाधानमा सधै सहयोग रहने विश्वास दिलाए। 

त्यसअघि महासंघका अध्यक्ष शेखर गोल्छाले स्वागत मन्तव्य दिँदै भने, 'हामी लगानी गर्छौं, प्रक्रिया सहज बनाइ दिनुहोस् । हामी उत्पादन गर्छौं, अवरोध नगरिदिनुस् । हामी रोजगारी दिन्छौं, हडताल नगरि दिनुहोस् । हामी निर्यात गर्छौं, प्रोत्साहन गरिदिनु होस् । हामी पर्यटक ल्याउँछौँ, स्वागत गरि दिनुहोस् । हामी राजस्व बुझाउँछौँ, अपमान नगरिदिनुहुन ।'

सो अवसरमा महासंघमा २५ वर्ष निरन्तर सेवा गर्ने कर्मचारी वरिष्ठ विज्ञ हंसराज पाण्डे र कार्यालय सहयोगी श्रीकृष्ण श्रेष्ठलाई नगद सहित सम्मान पत्रबाट सम्मानित गरिएको थियो । 

समुद्घाटन समारोहको अन्त्यमा धन्यवाद मन्तव्य दिदैं महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले भने, 'लगभग ५७ प्रतिशत काम गर्न सक्ने उमेर समूहका जनता रहेको नेपालसँग जनसांख्यिक लाभको अधिक सुविधा छ । यूवा जनसंख्याको बाहुल्यता यसको सशक्त पक्ष हुन । तर अव हामीले अबका केही वर्षभित्र यसको भरपूर उपयोग गर्न सकेनौ भने हाम्रा लागि अझ बढी कठिनाइका दिन आउने छन्, सम्माननीय सभामुखमा यो अवसरलाई सदुपयोग गर्ने वातावरण बनाई दिन हामी निजी क्षेत्र आग्रह गर्दछौं ।'

वार्षिक साधारण सभाको समुद्घाटन समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, महासंघका पदाधिकारीहरु, कार्यकारिणी समितिका सदस्यहरु, महासंघका सदस्य संघ संस्था, उद्योग प्रतिष्ठानका पदाधिकारीहरु, उद्यमी व्यवसायीहरुको उपस्थिति थियो । समुद्घाटन पश्चात प्रतिस्पर्धी उत्पादनमुलक उद्योग, लगानी प्रवद्र्धन, तरलताका विषयमा विषयगत छलफलहरु आयोजना गरिएको थियो ।