सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

अर्थतन्त्रको समस्या छिट्टै समाधान गर्नुपर्छ : सभामुख सापकोटा

काठमाडौँ - सभामुख अग्निप्रसाद सापकोटाले अर्थतन्त्रमा देखिएको समस्या वार्ताको माध्यमबाट छिट्टै समाधान गर्नु पर्ने बताएका छन । हालको परिस्थितिबाट बाहिर आउनको लागि सबै पक्ष मिलेर छिटै समाधान निकाल्नुपर्ने बताएका हुन्।

नेपाल चेम्बर अफ कमर्सको ७१ औं साधारण सभाका अवसरमा बोल्दै उनले नीजि क्षेत्र र सरकारले निरन्तर छलफल र संवाद गरेर सबै समस्या समाधान गर्नु पर्ने बताए । ‘सरकारका मुख्य सचिवले समस्या समाधान गर्न तयार रहेको बताउनु भएको छ । अब सरकार र नीजि क्षेत्रले समस्यालाई तत्काल समाधान गर्नु पर्छ ।’ सापकोटाले भने ।

हालको आर्थिक समस्यालाई समाधान गर्न स्वदेशी उत्पादन बढाएर नेपालमा औद्योगिक उत्पादन बढाइ निर्यात वृद्धि तथा आयात प्रतिस्थापन नै समस्या समाधानको मुख्य विकल्प रहेको बताए ।

यसैगरी सरकारका मुख्य सचिव शंकरदास बैरागीले घट्दै गएको विदेशी मुद्राको विनिमय जोगाउन रेमिट्यान्सलाई औपचारिक माध्यमबाट भित्र्याउनुपर्ने बताए । उनले यसका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने जोड दिए।

यसअघि पनि पटकपटक नीजि क्षेत्र र सरकारबीच अहिलेको आर्थिक समस्या समाधान गर्न छलफल भएको र आगामी दिनमा पनि छलफल गर्नुपर्ने उनको भनाइ छ ।

यस्तै कार्यक्रममा बोल्दै अध्यक्ष राजेन्द्र मल्लले आर्थिक समस्या तत्काल समाधान गर्न सरकारले अवश्यक कदम चाल्नु पर्ने र त्यसका लागि चेम्बर सदैव तयार रहेको समेत बताए । विगत ७० वर्षदेखि चेम्बरले निजी क्षेत्र र सरकारबीच सेतुको भूमिका खेल्दै आएको र आगामी दिनमा पनि यस्तै भूमिकामा रहने मल्लले बताए।

हालको आर्थिक समस्या समाधान गर्न नेपालमा विदेशी पर्यटन भित्र्याउन पहल गर्नुपर्ने उल्लेख गर्दै पर्यटक नै विदेशी मुद्रा आर्जनको मुख्य स्रोत हो । यस्तै रेमिट्यान्स समेत औपचारिक माध्यमबाट भित्र्याउन सबैले भूमिका खेल्नुपर्ने मल्लको भनाइ छ।