ह्विलचियरमा बन्जी जम्प (भिडियो)

बन्जी जम्प गर्न सुरिएर पोखरास्थित ‘गो बन्जी नेपाल’मा पुगेका केही युवा शरीरमा हार्नेस बाँधेर पनि डराएर बसिरहेका थिए । त्यही बेला झापा, दमकका भेषराज न्यौपाने (३६) ह्विलचियरमा बन्जी ब्रीज पुगे । सुरक्षाका लागि बन्जी क्रुले उनको शरीरमा हार्नेस बाँधिदिए । हातमा गोप्रो क्यामेरा लगाइदिए । ह्विलचियरबाट ओर्लिएर भेषराज बन्जीका लागि पुलछेउ पुगे । वरपरका सबैले उनलाई हुटिङ गर्न थाले । केही क्षणमै उनी डोरीको सहारामा सेती नदीको खोचमा झुल्न थाले । ‘झर्ने बित्तिकै केही सेकेन्डका लागि म शून्य भएँ,’ उनले भने, ‘हातमा लगाएको गोप्रोमा हेर्दै हासेँ । त्यस दिन मेरो अर्को एउटा सपना पूरा भएको थियो ।’
पहिल्यै प्याराग्लाइडिङ र र्याफ्टिङ गरिसकेका भेषराजलाई केही समय अघिदेखि बन्जी गर्ने सपना पलाएको थियो । तर, ह्विलचियरमा भएका कसैले पनि बन्जी गरेको उनले सुनेका थिएनन् । ‘मलाई बन्जी गर्न दिइन्छ कि दिइँदैन, त्यो नै थाहा थिएन,’ उनले भने, ‘तैपनि, मैले एकजना साथीमार्फत बन्जी टोलीलाई आफ्नो प्रस्ताव राखेँ । मेरो इच्छाशक्ति देखेर उहाँहरूले मलाई बन्जी गराउने निर्णय गर्नुभयो ।’
भेषराजले बन्जी गरेपछि पुल छेउ पुगेर डराइरहेकाहरूले पनि बन्जी जम्प गरे । उनीहरूको डरलाई भेषराजको साहस र आत्मविश्वासले जित्यो । एक हप्ता भयो, भेषराजलाई अहिले धेरैले फोन गरेर बन्जी गरेकामा बधाइ दिइरहेका छन् । बन्जीपछि भने भेषराज अब स्काइडाइभिङ गर्ने सपना पाल्न थालेका छन् ।
त्यस दिनदेखि ह्विलचियरको सहारा...
१२ कक्षामा पढ्ने भेषराज त्यसताका १८ वर्षका थिए । नेपाली सेनाको लेफ्टिनेन्ट बन्ने उनको सपना थियो । त्यसैको तयारीमा उनी बिहान सबेरै उठेर दौडिन्थे । २०६१ सालको फागुन महिना थियो । एक दिन बिहानको शारीरिक व्यायाम सकेर घर फर्किएका थिए । ‘घर फर्किएर कलेज जाने तयारी गरिरहेको थिएँ,’ उनले भने, ‘औँलामा ठेस लागेर झम्झमाएपछि बरन्डामा गएर बसेको थिएँ । चक्कर लागेर बरन्डाबाट तल खसेछु ।’
बरन्डाबाट खसेपछि परिवारका सदस्यले उनलाई तुरुन्तै अस्पताल लिएर गए । उपचारपछि हिँडडुल गर्न सकिएला भन्ने भेषराजले सोचेका थिए । तर, उनलाई आफ्नो अवस्थाबारे खासै जानकारी थिएन । परिवार र डाक्टरले लामो समयसम्म उनलाई वास्तविक अवस्थाबारे जानकारी दिएका थिएनन् । एक समय उनलाई आफ्नो अवस्थाबारे थाहा भयो । ‘ह्विलचियर नै अबको मेरो सहारा हो भन्ने थाहा पाएँ,’ उनले भने, ‘मेरुदण्डको पक्षघात भएको रहेछ । गर्धन भाँचिएको थियो । हात र खुट्टा केही पनि चल्दैनथ्यो ।’
भेषराजलाई निको हुन निकै समय लाग्यो । लगभग तीन वर्ष उनले ओछ्यानमै बिताए । दिनरात उनको स्याहारमा कोही न कोही खटिनुपथ्र्यो । तर, बिस्तारै उनको शरीर उठ्न सक्ने भयो । सामान्य जीवन बिताइरहेका उनले दुर्घटनापछि थुप्रै चुनौती बेहोरे । आर्थिक रूपमा पनि परिवारमा निकै अप्ठ्यारो आइपर्यो । तैपनि, उनले सजिलै हार मानेनन् । मानसिक रूपले आफूलाई बलियो बनाए । पढाइलाई निरन्तरता दिए । ग्रामीण विकासमा मास्टर्स गर्दै उनी बिस्तारै घरबाहिर निस्किन थाले ।
पुस्तकले ल्याएको परिवर्तन
दुर्घटनापछिको खराब समयबाट निस्किन र आफूलाई व्यस्त राख्न उनी पुस्तक पढ्न थाले । केही पुस्तक साथीहरूले सिफारिस गरे । केही आफैँले खोज्दै पढ्न थाले । हेलेन केलर, झमककुमारी घिमिरे, स्टिफिन हकिङ आदिका पुस्तक पढे । ती किताबले उनको जीवनलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गरिदिए । किताबले उनलाई शारीरिक अवस्थाभन्दा विचार शक्तिशाली हुन्छ भन्ने सिकायो । ‘हामी मानसिक रूपले सजग र शक्तिशाली भयौँ भने शारीरिक अवस्थाले केही फरक पार्दैन भन्ने कुरा मैले किताबबाटै सिकेँ,’ उनले सुनाए, ‘किताबले ममा ऊर्जा थप्यो । सशक्त रूपले अघि बढ्न प्रेरित गर्यो ।’
जसरी पुस्तकले उनको जीवन बदलियो र समाजमा पुनःस्थापित हुन सघायो, त्यसरी नै उनी पुस्तकको प्रभाव अरुको जीवनमा पनि परेको हेर्न चाहन्थे । तर, उनले चाहेका केही पुस्तक नै दमक बजारमा उपलब्ध थिएनन् । त्यसपछि उनमा आफ्नै घरको पहिलो तल्लामा पुस्तकालय स्थापना गर्ने सपना पलायो । २०६८ सालदेखि उनी पुस्तकालय बनाउने भनेर पुस्तकहरू भेला पार्न थाले । केही साथीहरूको सहयोगमा पुस्तकालय व्यवस्थापन समिति पनि खडा गरे ।
पुस्तकालय सुरु भएपछि पढ्न र सहयोग गर्न आउनेहरू बढ्दै गए । पछिल्लो समय दमकमा ‘डाइनामिक पब्लिक लाइब्रेरी’का रूपमा उनको पुस्तकालय चर्चित छ । भेषराजले अहिले यो पुस्तकालयलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाइरहेका छन् । मोरङ, सुनसरी, पोखरा हुँदै देशका १७ ठाउँमा यसका शाखा छन् ।

‘अन्तर्राष्ट्रिय पर्यटन सहकार्यको आधार हिमालयन ट्राभल मार्ट’

नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

अन्नपूर्ण आधार शिविरलाई खेलकुदमार्फत प्रवर्द्धन गरिने

पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’

‘हिमालयन ट्राभल मार्ट’को पाँचौँ संस्करण सुरू

निजी क्षेत्रसमेतको सहभागीतामा कर्णाली प्रदेशमा पर्यटन प्रवर्द्धन समिति गठन

पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आए,सबैभन्दा धेरै भारतीय

प्रतिक्रिया