आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

नेपाल-भारत मैत्री संघको अध्यक्षमा ओम प्रकाश

नेपालगञ्ज : नेपाल–भारत मैत्री संघको अध्यक्षमा ओम प्रकाश सरावगी निर्वाचित भएका छन् । आइतबार नेपालगन्जमा सम्पन्न संघको सातौं केन्द्रीय मैत्रीसभा तथा महाधिबेशनबाट ३ सय ५ मत प्राप्त गर्दै सरावगी अध्यक्ष निर्वाचित भएका हुन् । उनले वर्तमान अध्यक्ष राजकुमार सिन्धीलाई पराजित गरेका हुन । सिन्धीले १ सय ९९ मत ल्याएका थिए ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र मोहन झा ३ सय १० मत ल्याउदै बिजयी भएका छन् भने उनका प्रतिद्वन्दी बिष्णु सापकोटाले १ सय ९२ मत प्राप्त गरे । महासचिवमा २८१ मत ल्याउदै बोधकृष्ण सुबेदी निर्वाचित भए । सातै प्रदेशका उपाध्यक्ष र सदस्यसहित २९ सदस्सीय कार्यसमिति निर्वाचित भएको छ । जसमा सचिव मनोनित हुने निर्वाचन समितिले जनाएको छ ।

५ सय ६७ मतदाता रहेकोमा ५ सय ६ मत खसेको थियो । संघमा निर्वाचनका लागि जम्मा ४६ जनाले उम्मेद्धारी दिएकोमा ३ जनाले फिर्ता लिएका थिए । ७ जना निर्विरोध भएका छन् । उपाध्यक्ष ३ जना, सात क्षेत्रका महिला सदस्य ५ जना निर्विरोध भएका हुन । निर्विरोध हुने उपाध्यक्षमा प्रदेश १ का लोकेन्द्र कुमार श्रेष्ठ, प्रदेश ४ का ऋषिराम सापकोटा, प्रदेश नं. ६ का धनबहादुर श्रेष्ठ रहेका छन् ।

नेपाल–भारत मैत्री संघको सातौं केन्द्रीय मैत्रीसभा तथा महाधिवेशन नेपालगन्जमा शनिबारबाट सुुरु भएको थियोे । संघको केन्द्रीय मैत्रीसभा तथा महाधिवेशनको उद्घाटन प्रतिनिधी सभा सदस्य एव पूर्वमन्त्री संजय कुमार गौतमले गरेका थिए ।

संघले नेपाल र भारत बीचको सम्बन्ध प्रगाढ बनाउन पुलको काम गरेको गौतमले बताए । नेपाल र भारत बीच बिभिन्न समयमा देखिएका समस्याको समाधानका लागि पनि संघले महत्वपूर्ण समन्वय गरेको गौतमको भनाइ थियो ।

६ दशक अघि स्थापना भएको संघको प्रमुख उद्देश्य दुबै देश बीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै सांस्कतिक, साहित्यीक, भाषिक कार्यक्रमको आदान प्रदान गर्नु भएको उनले बताए । उनले नेपालका ७० जिल्लामा संघ गठन भएको भन्दै करिब ९ हजार नेपाली नागरिक यसको आजिवन सदस्य रहेको जानकारी दिए ।