सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय, पूर्वन्यायाधीशको अध्यक्षतामा जाँचबुझ समिति

काठमाडौँ– मन्त्रिपरिषद्को बिहीबारको बैठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न न्यायिक समिति गठन गरेको छ । न्यायिक समिति गठन भएसँगै उनी निलम्बनमा परेका हुन् । सर्वाेच्च अदालतका पूर्वन्यायाधीश पुरुषाेत्तम भण्डारीकाे अध्यक्षतामा जाँचबुझ समिति गठन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेकाे थियाे । 

नेपाल राष्ट्र बैंकका सञ्चालक सुबोधकुमार कर्णले एक वाणिज्य बैंकको मर्जर प्रक्रिया छिटो टुंग्याउने भए केही व्यक्तिगत शर्त पूरा गर्नु भन्ने सन्देश उक्त बैंकको सञ्चालकलाई पठाएका थिए । सोही मेसेज पछि गभर्नरको मोबाइलमा फरवार्ड भएको र उनले त्यसमा कुनै प्रत्युत्तर नदिएको बताइएको छ । 

कर्णले गभर्नरको संरक्षणमा काम गरेको भन्ने व्याख्या गर्दै अर्थमन्त्री जनार्दन शर्मा उनीमाथि खनिएका थिए । राष्ट्र बैंक ऐन, २०५८ मा न्यायकि समितिमार्फत् जाँचबुझ समिति गठन गर्न सक्ने प्रावधान छ । सरकारले साेही आधारलाई टेकेर जाँचबुझ समिति बनाएकाे बताइएकाे छ । 

त्यसो त शुरुवातदेखि नै अर्थमन्त्री र गभर्नरबीच राम्रो सम्बन्ध छैन । अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक नल्याइ मौद्रिक नीति नल्याउन भन्दै यो वर्षको केन्द्रीय बैंकको मौद्रिक नीति समेत एक महिना ढिलो गराएका थिए । 

शर्माले सार्वजनिक कार्यक्रममा नै गभर्नरले आफूलाई असफल बनाउन खोजेको भन्दै तुष पोख्दै आएका थिए । 

पछिल्लो समय राष्ट्र बैंकले अर्थतन्त्रका सम्बन्धमा गलत सन्देश फैलाएको अर्थमन्त्रीले बताउँदै आएका थिए । अछामका एक व्यवसायी पृथ्वी शाहको अमेरिकाबाट आएको १२ लाख अमेरिकी डलर अर्थमन्त्रीको दबाबका बीच रोक्का राखेको भन्दै अर्थमन्त्रीले प्रतिशोध साँध्दै आएका छन् । 

पूर्व अर्थसचिव रामेश्वरप्रसाद खनालले सरकारले गभर्नर निलम्बन गर्ने निर्णय गरेको भए त्यो दुर्भाग्यपूर्ण हुने बताएका छन् । तर सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकमा यस्तो निर्णय भएको आफूलाई जानकारी नभएको बताएका छन् । 

‘भएका निर्णय त मैले सञ्चारमाध्यमलाई ब्रिफिङ गरिहाल्छु नि,’ उनले भने, ‘ती बाहेक अरु विषय मलाई थाहा हुने कुरा भएन ।’ 

अधिकारीलाई निलम्बन गरेर सरकारले वरिष्ठ डेपुटी गभर्नर नीलम ढुंगानालाई कायममुकायम गभर्नरको जिम्मेवारी दिएकाे छ । गभर्नर अधिकारीले दुई वर्षअघि आजकै दिन राष्ट्र बैंकको गभर्नर पदमा पदबहाली गरेका थिए ।