बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

मन्त्री मनाङेलाई कारबाही गर्न कर्मचारीको माग

फाइल तस्वीर

पोखरा - गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कार्यकक्षमै कर्मचारीमाथि हातपात गरेपछि कास्कीका कर्मचारी आन्दोलित भएका छन् । निजामती सेवामा कार्यरत सम्पूर्ण कर्मचारीको पेसागत हक हितको संरक्षण अनिवार्य हुनुपर्ने मागसहित उनीहरू आन्दोलित बनेका हुन् ।

राजनीति र प्रशासन एकै सिक्काका दुई पाटा भएको भन्दै राजनीतिले प्रशासनलाई विभिन्न आक्षेप लगाएको हामीबीच स्पष्ट छ,’ उनीहरूको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘मन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले गरेको निन्दनीय घटनाप्रति हामी ट्रेड युनियनकर्मी घोर भर्त्सना गर्दछौं ।’

मन्त्रालयका अधिकृत प्रकाश ओझामाथि मन्त्री मनाङेले मंगलबार ४ बजेट आफ्नै कार्यकक्षमा बोलाएर तथानाम गाली र आक्रमण गरेको भन्दै घटनाको छानबिनको माग गरेका छन् । ‘मन्त्रीबाट आफ्ना मातहतका कर्मचारीमाथि यस्तो व्यवहार हुनु दुर्भाग्यपूर्ण हो । कर्मचारीहरूलाई भयरहित वातावरणमा काम गर्ने अवसर नहुँदासम्म सुशासन कायम हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘त्रासपूर्ण वातावरणमा कार्य गर्नुपर्ने अवस्थाको अन्त्य गरी आम नागरिकको सेवामा उच्च मनोबलका साथ समर्पित हुने अवस्था निर्माणको लागि गण्डकी प्रदेश सरकार समक्ष हार्दिक अनुरोध गर्दछौं ।’

एकीकृत सरकारी कर्मचारी संगठन नेपालका अध्यक्ष सोमलाल तिवारी, अध्यक्ष नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) कास्कीका अध्यक्ष अर्जुन देव ज्ञवाली र नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष सुरेश कुमार श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गरेका हुन् । उनीहरूले घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन् ।