बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

फोहरमा मोहर खोज्दै सप्तरीका विपन्न

फाइल तस्वीर

सप्तरी - सप्तरीको राजविराज नगरपालिका ४ की ४५ वर्षीया सकिना खातुनलाई यतिबेला भ्याई नभ्याई छ । दिनभर चुल्हो चौकामा मात्र व्यस्त रहने सकिनाले ६ महिनाअघि फोहोरमा मोहर कमाउन सक्ने थाहा पाएपछि घरधन्दा सकेर सकिना फोहोरमा होमिन्छिन् ।

राजविराज बजारमा फालिएको प्लास्टिक बटुलेर बेच्न थालेपछि दिनकै पाँच सयभन्दा बढी उनले आम्दानी गर्न थालेकी हुन् । उनी भन्छिन्, 'पहिले काम थिएन ।अहिले भ्याई नभ्याई छ ।'

सोही ठाउँका कलिम मियाँक‍ो परिवारले पहिले बिहान, बेलुकामा एक छाक मात्रै खान पाउँथे । गरिबीका कारण अधिकांश दिन एकछाक भोकभोकै बस्नुपर्ने बाध्यता थियो । फोहरमा मोहर खोज्न थालेपछि त्यो समस्या हटेको छ ।

जिल्लामा रहेको एकमात्र औघोगिक क्षेत्रमा कोसी पोलिमार्स इन्डस्ट्रिजले प्लास्टिकको पाइप बनाउने उद्योग खुलेपछि उनीहरूले काम पाएर राम्रो आम्दानी गर्न थालेका हुन् ।

राजविराज १ की ३० वर्षीया वविता राम पनि आफ्ना दुई छोराछोरीसहित श्रीमान‍्सँगै प्लास्टिकको झोला, डब्बाहरू फोहरबाट टिप्दै बोरामा राख्दै गरेको अवस्थामा भेटिइन् ।

उनले भनिन्, 'पहिले हामीलाई दुई छाक हातमुख जोर्न कठिनाइ थियो । फोहोरबाट प्लास्टिक उठाएकै कारण हामीलाई दुई छाक सजिलै खान पुगेको छ ।'

घरमा कोही नभएकोले छोराछोरी पनिसँगै आउने उनले बताएकी छन् । उनले फोहर प्लास्टिक र डब्बाबाट दैनिक चार सयदेखि ६ सय आम्दानी गर्दै आएको बताइन् ।

'कवाडीबालाले हामीसँग प्रतिकेजी २० रुपैयाँको दरले प्लास्टिक किन्ने गरेका छन् । हामीहरू बुढाबुढी नै यो काम गर्ने हुनाले दैनिक २५ देखि ३० केजी बटुल्दै आएका छौं ।'

अहिले यिनीहरू मात्र नभएर राजविराज बजारमा प्लास्टिकको झोला, बोतललगायत प्लास्टिक सामग्री टिप्दै जम्मा पार्ने ग्रुपहरू जताततै भेटिने गरेको सप्तरी यूथका विष्णु यादवले बताए ।

उनले भने, 'जिल्लामा प्लास्टिकको पाइप बनाउने उद्योग खुलेसँगै निम्न स्तर, गरिब, विपन्न परिवारले रोजगारी पाएका छन् । उनीहरूलाई जीविकोपार्जन गर्न सहज भएको छ ।'
 
राजविराज नगरपालिका वडा नम्बर ६ बस्ने नरेश कुमार चौधरीले उद्योग सञ्चालन हुनुभन्दा पहिले राजविराज नगरपालिमा प्लास्टिकको झोला र प्लास्टिकको बोतलले जताततै फोहर देखिने भए पनि अहिले सफा रहेको बताए ।

एक जनाले  दैनिक १५ देखि ३० केजी प्लास्टिक बटुलेर कवाडीमा बेच्ने र कवाडीबाट इन्डस्ट्रिजले प्रतिकेजी २५ रुपैयाँको दरले किन्दै आएको राजविराजका एक कवाडी  सञ्चालकले बताए ।

कोसी प‍ोलिमार्स इन्ड्रस्टिज खुलेपछि वेस्ट भएको प्लास्टिक किनबेचका लागि पाँच वटा नयाँ कवाडी खुलेको इन्ड्रस्टिजका प्रोप्राइटर रमेज यादवले जानकारी दिए ।

इन्ड्रस्टिजमा मात्रै २३ जना कर्मचारी कार्यरत छन् । प्रत्येक कवाडीमा कम्तीमा दुई जनाका दरले कामदार छन् । दैनिक एउटा कवाडीमा १० देखि १२ जनाले काम न लाग्ने फालिरहेको प्लास्टिक बटुलेर जम्मा गरेर बुझाउने गरेका छन् ।

दैनिक ५० देखि ६० जना प्लास्टिकको झोला, डब्बा र यही हाराहारीमा प्लास्टिकको फालिएको बोतल बटुल्नेहरूको संख्या रहेको छ । कवाडीमा आएको प्लास्टिकको बोतल बाहिरको जिल्लामा सप्लाइ हुँदै रमेशको भनाइ रहेको छ ।

'मेरो मात्र इन्ड्रस्टिजमा  दिनको ५ सयदेखि ६ सय केजी प्लास्टिक खपत हुँदै आएको छ । यसबाट उत्पादन भएको पाइप कल गाड्न, बोरिङ गाड्दा, ढल निकास गर्दा, धाराका लागि प्रयोग हुँदै आएको छ,' उनले भने ।

यसरी फालिएको प्लास्टिकबाट बनाइने सामाग्रीको इन्ड्रस्टिज खुलेपछि जिल्लाका एक सयभन्दा बढी महिला पुरुषले फोहोरबाट मोहर कमाएर जीविकोपार्जन गर्दै आएको औद्योगिक क्षेत्र सप्तरीका कार्यालय प्रमुख केशव पराजुलीले बताए ।