बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

पत्रकार महासंघ प्रदेश १ समितिको वेबसाइट शुभारम्भ

बिराटनगर - नेपाल पत्रकार महासंघ प्रदेश १ समितिको वेबसाइट सार्वजनिक गरिएको छ । बिहीबार आयोजित महासंघ प्रदेश १ समितिको प्रदेश सम्मेलनको उद्घाटनका अवसरमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले वेबसाइट सार्वजनिक गरेका हुन् ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले पत्रकारिता क्षेत्रको सुदृढीकरणका लागि केही प्रयास अघि बढाएको बताए । उनले प्रदेश १ मा पत्रकारिता र आमसन्चार क्षेत्रको विकासकै लागि सरकारले छुट्टै मन्त्रालय गठन भएको बताए ।

साथै सरकारले पत्रकारिता क्षेत्रको छुट्टै कानुन समेत संसदमा पेस भइसकेको बताए । मुख्यमन्त्री राईले कहिलेकाही सत्य कुरालाई पनि नियन्त्रीत ढंगले सम्प्रेषण गर्नुपर्ने अवस्थालाई समेत पत्रकारहरुले ध्यान दिन आग्रह गरे ।

प्रदेश सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेल, प्रदेश १ का यातायात तथा संचारमन्त्री उपेन्द्र घिमिरे, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङ्बो लगायत अग्रज पत्रकार, सम्बद्ध संघ संगठनका नेता, १४ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुको सहभागिता रहेको छ ।

भेलाले प्रदेश समितिले यस अघि तयार पारेको कार्ययोजनामाथि छलफल गरि महत्त्वपूर्ण निर्णयका साथ सम्पन्न हुने नेपाल पत्रकार महासंघ प्रदेश १ समितिका अध्यक्ष लिलाबल्लभ घिमिरेले जानकारी दिए ।