बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

राष्ट्रसंघका आवासीय संयोजकले भेटे प्रधानसेनापति

काठमाडौं –  संयुक्त राष्ट्रसंघका आवासीय संयोजक रिचार्ड होवार्डले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । 

भेटघाट बुधबार प्रधानसेनापति शर्माको जंगी अड्डास्थित कार्यकक्षमा भएको थियो । 

‘भेटघाटमा दुई पक्षीय हित, पारस्परिक सम्बन्ध, शान्ति मिशन, दिगो विकासलगायत अन्य विविध विषयहरुमा छलफल भएको थियो,’ नेपाली सेनाले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

भेटवार्तामा होवार्डले शान्ति स्थापनार्थ विभिन्न मुलुकहरुमा खट्टिरहेका नेपाली शान्ति सैनिकहरुले पुर्‍याएका योगदानको प्रशंसा गरेका थिए । 

भेटमा उनले बीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन हुने तालिमको अन्तराष्ट्रिय मान्यताको लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । 

उनले कंगो मिशनमा अपरेशन ‘बाली’ को दौरान मंगलबार विद्रोहीले चलाएको गोली लागि मृत्यु भएका सिपाही अनिल गुरुङ्ग प्रति संवेदना व्यक्त गरेका थिए ।

मृतकका परिवारलाई संयुक्त राष्ट्रसंघबाट उपलब्ध हुने सहयोगको लागि आवश्यक पहल गर्ने आश्वासन उनले दिएका थिए ।