बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

स्वदेशमै उत्पादन बढाउने किसिमको व्यवसायमा लाग्नुहोस् : उपराष्ट्रपति पुन

फाइल फोटो

काठमाडौँ - उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा बढ्दै गएको व्यापार घाटा कम गर्न स्वदेशमै उत्पादन बढाउने किसिमको व्यवसायमा लाग्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । 

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले मुलुकमा बढ्दै गएको व्यापार घाटा कम गर्दै समृद्ध मुलुक निर्माणका लागि स्वदेशमै उत्पादनमूलक व्यवसाय बढाउनुपर्ने बताए । 

`विदेशी मुलुकबाट आयात गरी व्यवसाय गर्नेतर्फ नभई स्वदेशमै उत्पादन बढाउने किसिमको व्यवसाय गर्नुपर्छ, जसले देशको विकासमा टेवा पुर्‍याउँछ`, उनले भने । निर्यात कम हुने र आयात धेरै हुँदा अर्थतन्त्रलाई नकारात्मक असर परेको उनको भनाइ थियो ।

संविधानको मर्म र भावनाअनुसार सिंहदरबारको अधिकार गाउँगाउँमा पुगे पनि नेपाली जनताको आर्थिक विकासमा अपेक्षाकृत परिवर्तन र पर्याप्त रोजगारीको अवसर बन्न नसकेको उनले बताए ।  

विसं २०६२÷६३ मा भएको  राजनीतिक परिवर्तनसँगै सकारात्मक दिशामा अगाडि बढेको देशको अर्थतन्त्र कोरोनाको कारण पुनः चपेटामा परेको उनको भनाइ थियो ।

उपराष्ट्रपति पुनले नेपाली पुँजीपतिलाई ढुक्क भएर नेपालमा लगानी गर्नसमेत आग्रह गरे । `म नेपाली पुँजीपतिहरुसँग आग्रह गर्न चाहन्छु, पुँजी विदेशमा लैजाने नसोच्नुस्, उल्टो विदेशी पुँजीसमेत नेपालमा भित्र्याउनुहोस्`, उनले भने ।

आत्मनिर्भर अर्थतन्त्र बनाउनका लागि सरकार निजी क्षेत्रसँग मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । उपराष्ट्रपति पुनले साना तथा मझौला उद्योगी व्यवसायीको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षणसमेत गरेका छन् । रासस