मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

'सिंहदरबार वरिपरि घुम्‍ने भइयाथ्यो, सडकमा पुर्‍याइदिनु भयो केपीजीलाई धन्यावाद'

 काठमाडौँ  : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले जालझेल र षडडयन्त्र गरेपछि विद्रोहको झण्डा उठाएको बताएका छन् ।  छुवाछुतविरुद्धको अन्तर्राष्ट्रिय दिवसको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सिंह दरबार वरिपरिबाट सडकमा पुर्‍याइदिएको भन्दै ओलीलाई धन्यावाद पनि दिए । 

‘हामी सिंहदरबार वरिपरी घुम्‍ने भइया’थ्यो । उहाँले संसद विघटन गरेर हामीलाई सडकमा पुर्‍याइदिनुभो,’ दाहालले भने, ‘फेरि आम नेपाली जनताको बीचमा फाल्दिनुभो केपीजीलाई धन्यावाद । आफूमा लागेको धुलोमैलो टक्टकाउँदै हामी जनताको बीचमा उभिएका छौं । ’ उनले पुस ५ गतेपछि आफू निकै शक्तिशाली भएझै लागेको पनि बताए ।  

 उनले सशस्त्र द्वन्द्वको प्रसंग उठाउँदै बाचुन्जेल जनताकैबीचमा लड्ने पनि बताए । ‘म ३६ वर्षको उमेर पार्टीको महासचिव भएको मान्छे । जनयुद्ध सुरू गर्दा ४२ वर्ष थिएँ र शान्ति प्रक्रियामा आउँदा ५२ वर्षको थिएँ,’ उनले भने, ‘अब पनि मेरो लडाईं सकिएको छैन । म बाँचुन्‍जेल लड्ने नै भएँ । अन्तिम समयसम्म लडिराख्छु ।’