आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित

फाइल तस्‍बिर

काठमाडौँ - संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (युएनएफपिए)ले विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित हुने गरेको निष्कर्षसहितको  प्रतिवेदन सार्वजनिक गरेको छ ।

‘स्टेट अफ वल्र्ड पपुलेसन २०२२’ नामक गत हप्ता सार्वजनिक  प्रतिवेदनमा  विश्वमा प्रत्येक वर्ष १२ करोड १० लाख महिला तथा किशोरी गर्भाधारणको इच्छा नहुँदानहुँदै पनि गर्भवती हुन बाध्य भइरहेको जनाउँदै  युएनएफपिएले यसलाई विश्वव्यापी सङ्कट भनेको छ । उसले हरेक वर्ष  विश्व जनसङ्ख्याको स्थितिसम्बन्धी प्रतिवेदन सार्वजानिक गर्दै आएको छ ।

प्रतिवेदनअनुसार गर्भाधारणबाट प्रभावित भएका महिला तथा किशोरीका लागि गर्भवती हुने वा नहुने भन्ने प्रजनन छनोटको विकल्प नै छैन । आफ्नो जीवन नै परिवर्तन गरिदिने गर्भाधारणजस्तो अवस्था पनि उनीहरुको छनोटको पहुँचभन्दा बाहिर देखिएको छ, संयुक्त राष्ट्रसङ्घको यौनिक तथा प्रजनन स्वास्थ्यसम्बन्धी संस्था युएनएफपिएद्वारा जारी  प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२२ को प्रतिवेदन अनिच्छित गर्भाधारणको विषयमा केन्द्रित छ । ‘सिइङ द अनसिन : द केश फर एक्सन इन द नेग्लेक्टेड क्राइसिस अफ अनइन्टेन्डेड प्रिग्नेन्सी’  शीर्षक दिइएको छ । यस वर्षको सो प्रतिवेदनले मानवअधिकारको क्षेत्रमा देखिएको यस्तो सङ्कटले समुदाय, महिला तथा किशोरी र विश्व स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउने चेतावनी दिएको छ ।

सुरक्षित गर्भपतन सेवाका लागि अझै पनि धेरै महिला तथा किशोरीले उल्लेखनीयरूपमा संरचनात्मक तथा अनौपचारिक बाधा व्यवधानको सामना गर्नु परिरहेको छ । 'यो प्रतिवेदन एउटा ‘वेकअप कल’ हो । अनिच्छित गर्भाधारणमा देखिएको यस्तो अप्रत्यासित सङ्ख्याले महिला तथा किशोरीको सामान्य मानवअधिकार प्रवद्र्धनमा विश्व समुदायको असफलताको प्रतिनिधित्व गर्छ', युएनएफपिएका कार्यकारी निर्देशक डा नतालिया कनेम भन्छन्, 'गर्भाधारणबारे आधारभूत निर्णय गर्ने शक्ति महिला तथा किशोरीकै हातमा सुम्पिएर मात्र समाजले महिला तथा किशोरीका लागि मातृत्व अपरिहार्यता नभएर, चाहना भएको सुनिश्चित गर्न सक्छ ।'

प्रतिवेदनमा विश्वमा गर्भाधारणको चाहना नभएर पनि अनुमानित २५ करोड ७० लाख महिला परिवार नियोजनका सुरक्षित र आधुनिक तरिका प्रयोग गर्दैनन् भन्ने उल्लेख छ । 'यसका साथै तथ्याङ्क उपलब्ध भएका ठाउँमा, झण्डै एक चौथाइ विवाहिता महिला यौन प्रस्तावलाई नकार्न सक्दैनन् । अनिच्छित गर्भाधारणलाई महिलाको व्यक्तिगत असफलता मात्र भन्न मिल्दैन, यो त समाजले उनीहरूलाई आफ्नै शरीरमाथिको अधिकारमा दिनुपर्ने स्वायत्तताको अभाव वा समाजले थोपर्ने विभेदकारी मूल्य–मान्यताका कारणले गर्दा भएको हुनसक्छ । दिगो विकासका लक्ष्य २०३० ले महिलाको आफ्नो शरीरमाथिको स्वायत्तता र लैङ्गिक समानताका साथै यौन सम्बन्ध, परिवार नियोजनका सामग्री र प्रजनन स्वास्थ्य सेवाका बारेमा जानकारीसहित आफैँले निर्णय गर्न सक्ने महिलाको क्षमताको पहिचान गर्छ जब गर्भाधारणको आधा सङ्ख्या आफ्नो इच्छाबमोजिम हुँदैन, यसले हामीलाई महिलाको प्रजनन स्वतन्त्रताप्रतिको उपेक्षित अवस्थाको डरलाग्दो तस्वीर देखाइदिन्छ',  प्रतिवेदनमा भनिएको छ । 

प्रतिवेदनले अनिच्छित गर्भाधारणको सङ्ख्या लैङ्गिक असमानता, कमजोर सामाजिक आर्थिक विकास र महिलाको यौन तथा प्रजनन अधिकारमाथिको अवरोधसँग गहिरोरूपमा अन्तर सम्बन्धित रहेको उजागर गर्छ, प्रतिवेदन सार्वजनिक गर्दै कार्यकारी निर्देशक डा कनेमले भने, 'अनिच्छित गर्भाधारणले स्वास्थ्य प्रणालीमा अर्बौँ डलरको भार पार्नुका साथै भावी सन्ततिका लागि समेत अझ खराब परिणाम निम्त्याउँछ ।' रासस