‘नेपाली फुटबल तल होइन, माथि नै बिग्रेको छ’

काठमाडौँ : काठमाडौँमा यतिबेला मौसम मात्र होइन फुटबल पनि तातिएको छ । फुटबल तातिने कारण हो, नेपाल सुपर लिग (एनएसएल) आयोजना तयारीको तामझाम । नेपाली फुटबल इतिहासकै पहिलो फ्रेन्चाइज लिग एनएसएल वैशाखमा हुने भएपछि फुटबल अचानक सल्बलाएको हो ।
तारे होटलमा एनएसएलका पत्रकार सम्मलेन र अक्सन भइरहँदा, उता सातदोबाटोस्थित एन्फा कम्पलेक्सको मैदानमा सहिद स्मारक सी डिभिजन लिग जारी छ । कुल १४ टिमले भाग लिएको सी डिभिजन लिग गत आइतबारबाट सुरु भएको हो । नेपाली फुटबलको तेस्रो श्रेणीको लिगमा भाग लिन काठमाडौँ बाहिरबाट तीन क्लब आएका छन् । तीमध्ये एक हो, झापा फुटबल क्लब र यसका प्रशिक्षक हुन्, युगल किशोर राई ।
झापाले सुरुवाती दुई खेलमा हार व्यहोरेको छ । झापाले तेस्रो खेल आइतबार खेल्दैछ । विपक्षी हो, समाज कल्याण खेलकुद केन्द्र जसले लिगमा खेलेका दुवै खेलमा जित दर्ता गरेको छ । लगातारको हार र तेस्रो खेलमा सामना गर्नुपर्ने बलियो विपक्षीले युगललाई अत्याएको छैन । ‘अझै पनि उद्देश्य लिग जित्ने नै हो । बी डिभिजनमा उक्लने नै हो । दुई हारले लक्ष्य परिवर्तन हुँदैन,’ गोल्फुटारस्थित चौर रिक्रिएसनल सेन्टरको फुटसल मैदानमा आफ्नो टिमलाई प्रशिक्षण गराउँदै गरेका युगलले भने ।
युगलले लामो समय नेपाली फुटबलको पहिलो श्रेणीमा बिताए । थ्री स्टार, रानी पोखरी कर्नर टिम (एनआरटी), मनाङ मर्स्याङदी र नेपाल पुलिस क्लबलगायतका ए डिभिजन क्लबबाट खेले । शारीरिक रूपमा छरिता अनि तीव्र गतिमा खेल्न सक्ने युगल गोल गर्न र अस्सिट गर्न सिपालु मानिन्थे । त्यो पनि फरक-फरक पोजिसनमा खेलेर ।
धुब्र केसीको प्रशिक्षणमा रहेको थ्री स्टारबाट २०६० मा ए डिभिजन लिगमा डेब्यु गरेका युगल सुरुवाती दिनमा मिडफिल्डर थिए । तर कालान्तरमा उनी स्ट्राइकर बने । ‘नेपालको अन्डर-१९ टिमबाट खेल्दा मलाई श्याम थापाले स्ट्राइकरको भूमिका सुम्पनु भयो,’ युगल सम्झिन्छन् । श्याम थापाले युगलमा सुम्पिएको स्ट्राइकरलाई उनले सही सावित गरे । लिगमा करिब ३५–४० गोल गरे । २०६३ को ए डिभिजन लिगमा युगलले थ्री स्टारको जर्सीमा आठ खेल खेल्दा १२ गोल गरेका थिए । ‘लिग करियरमा मैले गोल भन्दा बढी असिस्ट गरेको छु । तर संख्या ठ्याक्कै याद छैन । त्यसबखत तथ्यांक राख्ने चलन नै थिएन,’ युगल भन्छन् ।
ए डिभिजन लिगमा स्थापित हुँदा पनि युगलको मन नेपाली फुटबलमा अडिएन । उनी २०६६ मा बेलायत हानिए । जहाँ उनी १८ महिना रहे । स्कटिस क्लब बेरविक रेन्जर्समा ट्रायल दिए । त्यहाँ उनी दुई सय जना मध्येबाट शीर्ष दुईमा परे । ‘बेरविक त्यसखबत स्कटिस फुटबलको तेस्रो श्रेणीमा थियो । मलाई छानियो । तर मेरो स्पोन्सर नभएकाले रिजर्भ टिममा बस्न भनियो । मैले मानिनँ,’ युगल सम्झन्छन्, ‘रिजर्भ टिममा बस्दा अपमान हुने जस्तो लाग्यो । रिजर्भ टिममै रहेर पनि करियर अगाडि बढाउन सकिन्छ भनेर कसैले मलाई विश्वास दिलाएको भए सायद म अहिले बेलायतमै हुन्थेँ ।,’
बेलायतको बसाइले आफ्नो फुटबलसम्बन्धी ज्ञानको दायरा फराकिलो बनाएको अनुभव समेटेका छन् युगलले । ‘त्यहाँको फुटबल वातावरण लोभलाग्दो थियो । एकेडेमीका किशोर खेलाडीदेखि सिनियर टिमका स्टारसम्मको खेल्ने शैली उस्तै । पासिङदेखि पेनिट्रेसनसम्म उही । अनि एकै प्रकारको बिल्डअप,’ युगल भन्छन् ।
उनी नेपालमा पनि देश अनुकुलको ‘फुटबल फिलोसफी’ को विकास गर्नुपर्ने बताउँछन् । ताकि राष्ट्रिय टोलीको खेल प्रशिक्षक फेरिनासाथ नफेरियोस् । ‘एउटा प्रशिक्षकले प्रेसिङ खेल खेलाउने । अर्कोले रक्षात्मक । प्रत्येक पटक प्रशिक्षक फेरिँदा खेल्ने शैली फरक हुन्छ । त्यसरी त हामी अल्मलिन्छौँ । हाम्रो परिचय नै रहँदैन’ युगल थप्छन् ।
प्रशिक्षण करियर
प्रशिक्षण करियरको सुरुवाती चरणमा रहेका युगल शारीरिक रूपमा बलियो भन्दा पनि प्राविधिक कौसल भएका खेलाडी आफ्नो नजरमा पर्ने बताउँछन् । बल ‘पोसेसन’ राख्ने र ‘बिल्डअप’ मा ध्यान दिने रणनीतिमा ‘स्किलफुल’ खेलाडीको आवश्यकता पर्ने युगलको भनाइ छ । ‘नेपालमै पनि फुटबल परिवर्तन भइसक्यो । हामी खेलाडी हुँदा अभ्यासका दौरान ट्याक्टिस र मुभमेन्टमा काम गर्ने भन्दा पनि दौडने बढी हुन्थ्यो । खेल्ने शैलीमा पनि एकरुपता हुँदैन थियो । अहिले फरक छ,’ एएफसी ए कोचिङ लाइसेन्स प्राप्त गरेका युगलको धारणा छ ।
युगलले प्रशिक्षण करियर सुरु गरेको धेरै भएको छैन । २०७० मा अन्तिम पटक लिग खेलेका युगलले त्यसपछि चौर रिक्रिएसनल सेन्टरको फुटसल मैदानमा किशोरहरूलाई फुटबल अभ्यास गराउन थाले । २०७५ बाट भने उनी झापा एघार र झापा फुटबल क्लबको प्रशिक्षकको जिम्मेवारीमा छन् ।
युगलले राष्ट्रिय टिमका लागि एएफसी च्यालेन्ज कपसहति जम्मा पाँच क्याप खेले । त्यसबखतको राष्ट्रिय टोलीमा गोलरक्षक विकास मल्लदेखि मिडफिल्डर प्रदीप महर्जनसम्मका प्रतिभाशाली खेलाडीहरूले नेपाली टोलीलाई बलियो बनाएका थिए । युगल ती स्टारहरूको छायाँमा परेका हुन् त ? युगल त्यस्तो निष्कर्ष स्वीकार तयार छैनन् ।'
हाल झापालाई सी डिभिजनबाट बढुवा गराउने ध्येयमा रहेका युगल गत महिना सम्पन्न बी डिभिजनमा पनि प्रशिक्षककै भूमिकामा थिए । युगलको प्रशिक्षणमा बाँसबारी, १२ टिम सम्मिलित बी डिभिजनको तेस्रो स्थानमा रह्यो । बाँसबारीलाई ए डिभिजनमा पुर्याउन नसके पनि युगलको लक्ष्य फेरि पनि ए डिभिजन नै हो । उनले झापा फुटबल क्लबसँगै यो लक्ष्य पूरा गर्ने संकल्प गरेका छन् ।
ए डिभिजन लिग
युगल ए डिभिजन लिग होम एन्ड अवेमा सञ्चालन हुनपर्छ भन्ने मान्यताका पक्षपाती हुन् । काठमाडौँ केन्द्रित लिगले नेपाली फुटबल नउकासिने युगलको निष्कर्ष छ । तर लिगलाई काठमाडौँ भन्दा बाहिर लग्न समय लाग्ने कुरासँग पनि युगल बेखबर छैनन् । ‘लामो समयदेखि नेपाली लिग काठमाडौँमा भइरहेको छ । उपत्यका बाहिर लग्ने भनेर मात्रै हुँदैन । एकै झट्कामा लान सकिने पनि होइन । त्यसको एउटा प्रक्रिया होला । समय लाग्ला । तर त्यसका लागि पाइला चाल्ने समय घर्कन लागेको छ,’ युगल भन्छन् ।
काठमाडौँ बाहिरका क्लब दशरथ रंगशालामा आएर खेल्दा रंगशाला सुनसान हुन्छ । ए डिभिजनमा रहेका काठमाडौंकै कयौँ क्लब एक आपसमा भिड्दा पनि रंगशाला रित्तै भएको देखेपछि युगलले लिगलाई काठमाडौँ बाहिर बिस्तार गर्ने समय आइसकेको महसुस गरेका छन् । ‘दर्शकविना फुटबल खेलेर हुँदैन । ए डिभिजनका केही क्लबबाहेक अन्यले दर्शकलाई आर्कषित गरेको देखिएन । यस्तो अवस्थामा झापाको खेल हेर्न दशरथ रंगशालमा को आउने ? झापाले झापामै खेल्दा मात्र दर्शक आउँछन । त्यसकारण हामी ढिलो चाँडो होम एन्ड अवेमा नगई सुख छैन’ युगलको बुझाइ छ ।
अन्त्यमा,
युगलले राष्ट्रिय टिमका लागि धेरै खेलेनन् । एएफसी च्यालेन्ज कपमा गरी जम्मा पाँच क्याप । त्यसबखतको राष्ट्रिय टोलीमा प्रतिभाशाली खेलाडीहरूको कमी थिएन । गोलरक्षक विकास मल्लदेखि मिडफिल्डर प्रदीप महर्जनसम्मले नेपाली टोलीलाई बलियो बनाएका थिए । युगल ती स्टारहरूको छायाँमा परेका हुन् त ? युगल त्यस्तो निष्कर्ष स्वीकार तयार छैनन् नत उनलाई राष्ट्रिय टिमबाट धेरै खेल्न नपाएकोमा पछुतो नै छ । पछुतो छ त केवल त्यस टिमलाई नेपालले उपयोग गर्न नसकेकोमा ।
युगल आफैँ अग्रपंक्तिको खेलाडी भएकाले उनको आइडल पनि फरर्वाड नै थिए । चन्द्रगढी झापाकै, हरि खड्का । युगल भन्छन्, नेपाली फुटबलमा हरि जस्तो आक्रमक खेलाडी उनले देखेका छैनन् । युगलले हरिसँग एउटा प्रतियोगिता खेल्न पनि भ्याए । झापाको पुरानो मुनाल क्लब भुटानमा एक प्रतियोगिता खेल्न जाँदा १६ वर्षे युगल र राष्ट्रिय टोलीका स्ट्राइकर हरिसँगै थिए । ‘मैले हरि दाइसँग एउटै टिममा रहेर खेलेको प्रतियोगिता त्यही मात्रै हो,’ युगल सम्झिन्छन् ।
अहिलेको पुस्तामा युगललाई मनपर्ने खेलाडी को त ? केही मिनेट सोचेपछि उनको उत्तर थियो, विक्रम लामा । ‘नेपालले पछिल्लो समय प्राप्त गरेको सफलतामा मिडफिल्डर विक्रमको योगदान अतुलनीय छ । उनीसँग खेललाई कन्ट्रोल गर्न सक्ने खुबी छ । मैदानमा परिपक्व र धैर्यवान देखिन्छन् । मैले परिकल्पना गर्ने टिममा विक्रम जस्तो खेलाडीको भूमिका अहम् हुन्छ । विक्रम अब राष्ट्रिय टिमका लागि धेरै वर्ष नखेल्न सक्छन् । त्यसकारण हामीलाई अर्को विक्रम चाहिएको छ,’ युगल भन्छन् ।
युगल नेपाली फुटबलमा रहेको दुई दशक बढी भयो । खेलाडीका रुपमा लामो यात्रा तय गरेपछि उनी अहिले प्रशिक्षणमा करियर बनाउन प्रयासरत छन् । फुटबललाई भित्रैबाट बुझेका छन् । त्यसैले नेपाली फुटबलको अवन्नतिको कारण पनि गज्जबले ठम्याएका छन् । ‘फुटबल तल बिग्रेको छैन, माथि बिग्रेको छ । मैदानमा नतिजा निस्केन भन्ने बेकार हो । खेलाडीलाई गाली गर्नुको पनि तुक छैन । माथिल्लो तहमा बसेकाहरूले फुटबल बिगारेका हुन्,’ युगल भन्छन् ।
खेलकुदको विकास गर्ने वाचा गरेर पदमा बसेका पदाधिकारीलाई मात्र होइन खेलाडीलाई पनि युगलको सुझाव छ । फुटबलले आर्थिक सन्तुष्टि दिएको छैन भने नखेल्नु । ‘पैसा भएन भन्दैमा मेहनत नगर्ने भन्ने हुँदैन । म मेरा खेलाडीहरूलाई पैसा कमाउने हो भने विदेश जाऊ भन्छु । तर खेलाडी बन्ने हो भने यसमै ध्यान केन्द्रित गर्नुपर्यो । धेरै गुनासो गर्नुभएन,’ युगलको सुझाव छ ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया