मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

एमालेले मदननगरमा बनाउने भयाे अत्याधुनिक कार्यालय

काठमाडौँ : नेकपा एमालेले पुरानो कार्यालय मदननगर बल्खुमा पार्टी कार्यालय बनाउने भएको छ । विसं २०७२ को भूकम्पका कारणले भत्किएको एमालेको मुख्यालय सोही ठाउँमा पुनः बनाउन थालिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको १२औँ केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस आगामी वैशाख ९ गतेका दिन केन्द्रीय कार्यालय रहेको स्थल बल्खुमा पार्टी कार्यालयको शिलान्यास गर्ने निर्णय गरेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । विसं २०५३ मा निर्माण गरिएको एमालेको पार्टी मुख्यालय भूकम्पले क्षति भएपछि धुम्रबराहीमा सारिएको थियो ।

एमालेका कार्यलय सचिव ईश्वरी रिजालले पार्टीको आवश्यकताअनुसार भवन अत्याधुनिक बनाइने बताए । पुराना कार्यालयका करिब १३ रोपनी जग्गा पार्टीको नाममा छ । उनका अनुसार शिलान्यासको तयारी जिम्मेवारी विष्णु रिमाललाई दिइएको छ ।