‘गोरु पर्व’ देखाएसँगै सुरु भयो पाँचौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

काठमाडौँ- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को पाँचौं संस्करण बिहीबारदेखि सुरु भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमलाई राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिकाका प्रमुख शाक्यले कोभिडका कारण सबैभन्दा बढी फिल्म क्षेत्र प्रभावित भएको बताए । ‘झण्डै दुई वर्ष कोरोनाको कारण फिल्म व्यवसाय ठप्प भयो । तर अहिले कोरोनासँग जुधेर अगाडि बढ्न सक्छौं भन्ने सन्देश चलचित्र महोत्सवबाट दिनुभएको छ,’ शाक्यले भने ।
नेपालका लाग युरोपियन युनियन राजदूत नोना डिप्रेजले युरोपियन युनियनले नेपाली चलचित्र उद्योगसँग सहकार्य गरेर काम गरिरहेको बताइन् । ‘नेपालको फिल्मलाई युरोपियन युनियनले सधैं माया गरेको छ । हामीले विभिन्न फेस्टिभलहरुमा सहकार्य गर्दै आएका छौं । यस्तो फेस्टिभल अझै भइरहनुपर्छ,’ उनले भनिन् ।
जुरी प्रमुख सुदिप्तो आचार्यले कोरोना महामारीबाट जोगिएर यो अवस्थामा चलचित्र महोत्सव गर्नु खुसीको कुरा भएको बताए । उनले भने, ‘यो अवस्थामा पनि चलचित्र महोत्सव गर्नु ठूलो कुरा हो । त्यसैले हामीले चलचित्रलाई माया गरौं ।’
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपाली फिल्म उद्योगलाई सरकारले सहयोग गर्न कन्जुस्याइँ नगरेको बताए । चलचित्रकर्मीहरुलाई मञ्चभन्दा फिल्डमा उत्रेर राम्रा चलचित्र बनाउन उनले सुझाव दिए । ‘चलचित्रकर्मीहरु मञ्चमा आवाज उठाउँछौं । तर फिल्डमा कमजोर छौं । तपाईंहरु उत्कृष्ट कथा ल्याउनुहोस् । राज्यले लगानी गर्नेछ,’ उनले भने । दाहालले यो वर्ष पाँच वटा चलचित्रका लागि राज्यले लगानी गर्ने बताए । उनका अनुसार यो वर्ष तीन ओटा सर्ट फिल्म र दुई ओटा फिचर्ड फिल्म निर्माणको लागि राज्यले लगानी गर्नेछ । बोर्डसँग सहकार्य गरेर विभिन्न सुविधा तथा नीतिगत सहयोग चलचित्रकर्मीले लिन सकिने बताए ।
निफबाट नेपालले पनि नयाँ कुरा सिक्न सक्ने दाहालको भनाइ थियो । ‘निफमा हामीले हरेक पटक सहयोग गर्दै आइरहेका छौं । यसपटक पनि सहयोग गरेका छौं । विश्वका विभिन्न सिनेमा हेरेर हामीले सिक्न सक्छौं,’ दाहालले भने ।
निर्देशक तथा निफका संयोजक यादव कुमार भट्टराईले कार्यक्रममा स्वागत गर्दै निफले नेपालका चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा लैजान सहयोग गरेको बताए । तर राज्यले चलचित्र क्षेत्रको विकासका लागि ध्यान नदिएको उनको गुनासो थियो । ‘राज्यको कमजोर नीति र फितलो कार्यान्वयनले चलचित्र उद्योग विघटनकै संघारमा पुग्ने अवस्था सिर्जना भएको छ । यसप्रति ध्यानाक्षण गराउन चलचित्रकर्मी एक हुनुपर्ने अवस्था आएको छ,’ उनले भने ।
कार्यक्रमका सभापति एवम् नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले भौतिक रुपमा महोत्सव गर्न पाएकोमा खुसी व्यक्त गरे । कार्यक्रमका लागि सहयोग गर्नेलाई धन्यवाद दिँदै फेस्टिभलमा सहयोग गर्न आह्वान समेत गरे ।
कार्यक्रममा उद्घाटनको दिन पुरु लम्सालको निर्देशन रहेको ४६ मिनेटको डकुमेन्ट्री ‘गोरु पर्व’ प्रस्तुत गरिएको थियो ।
२१ गतेसम्म चल्ने महोत्सवमा ३८ देशका ८९ चलचित्रहरुबीच प्रतिष्पर्धा हुनेछ । त्यसमध्ये राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको सातवटा विधाको प्रतिष्पर्धामा १४ वटा पुरस्कार वितरण गरिनेछ । शुक्रबारदेखि कार्यक्रम नेपाल पर्यटन बोर्डको हलमा हुने जनाइएको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया