मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

प्रतिनिधि सभाले बिस्तारै लय समात्‍छ :  सभामुख सापकोटा

फाइल तस्‍वीर

काठमाडौँ : सभामुख अग्‍नीप्रसाद सापकोटाले प्रतिनिधि सभाले बिस्तारै लय समात्ने बताएका छन् । शनिबार जी.पी.कोइराला मेमोरियल(सामुदायिक) कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले प्रतिनिधिसभा सञ्चालनमा केही समस्या भएका कारण लयमा फर्काउन मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताए । 

संसद् छलफल, बहस, बादविवाद र सम्वाद हुँदै अघि बढ्ने भन्दै उनले चुनौतीहरूको सामना गर्न प्रतिकुलतामा पनि अनुकुलता खोज्ने उपायहरू खोजिरहेको बताए । संसद्‍को अनेकौ चुनौतीहरूको सामना गर्दै गुणस्तरीय कानुन निर्माणको लागि प्रयत्न गरिरहेको उनको भनाइ छ ।

‘अलिकति समस्याहरू छन्,' उनले भने, 'त्यसलाई लयमा फर्काउनको लागि बढी नै मेहनत गर्नुपर्ने आवश्यकता छ । तर हिजोबाट तपाइहरूलाई लाग्यो होला अब त्यसले लय समात्छ । त्यसले गति लिन्छ । त्यो जिवन्त र जनमुखी हुने नै छ । हामीले संसदलाई जीवन्त र जनमुखी बनाउने प्रण गरेका छौँ । संसदको मुख्य काम कानुन निर्माण गर्ने हो । कानुन निर्माण गर्ने कुरामा हामी अनेकन चुनौतीको सामना गर्दै त्यसलाई गुणस्तरीय कानुन निर्माण गर्नका लागि भगिरथ प्रयत्न गर्दैछौँ र त्यसपछि बनेको कानुनहरू कार्यान्वयन गर्ने हाम्रो कर्तव्य हुनेछ ।'

चुनौतीहरू रहेको भन्‍दै प्रतिकुलतामा पनि अनुकुलता खोज्ने उपायहरू खोजिरहेको उनले बताए । 'बिस्तारै समय लाग्छ तर म विश्वास दिलाउन चाहन्छुकी त्यसले फेरि गति लिनेछ । जीवन्त र जनमुखी हुनेछ । संसद भनेको छलफल, वहस, वादविवाद, सम्वाद हुँदै अगाडि जाने कुरा हो । वादविवाद छ अब सम्वाद हुँदै अगाडि बढ्छ ।’