सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

चिनियाँ ऋणको भुक्तानी सुरु हुँदै, १३ वर्षभित्र चुक्ता गर्नुपर्ने

काठमाडौँ– नेपालले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिएको चिनियाँ ऋणको साँवाब्याज भुक्तानी २०७९ देखि २०९२ असोज भित्र गरिसक्नुपर्ने सम्झौता छ । नेपाललले पोखरा विमानस्थल निर्माणका लागि चीन सरकार तथा एक्जिम बैंक (एक्स्पोर्ट–इम्पोर्ट बैंक अफ चाइना)सँग २०७२ चैतमा १ अर्ब ३७ करोड ८७ लाख ४० हजार युआन ऋण लिने सम्झौता गरेको थियो । चिनियाँ स्टेट काउन्सिलर वाङ यीको भ्रमणका क्रममा हस्तान्तरण गरिएको पोखरा विमानस्थलको ऋण भुक्तानीको दिनगन्ती आगामी वर्षदेखि शुरु हुनेछ । 

पोखरा विमानस्थलले उक्त ऋणको साँवाब्याज तिर्नका लागि वार्षिक २ अर्ब रुपैयाँ कमाउनुपर्ने हुन्छ । यद्यपि, यसको आन्तरिक प्रतिफल दर (आइआरआर) अत्यन्त कम भएकाले ऋणको साँवा ब्याज भुक्तानी गर्नेगरी विमानस्थलले आम्दानी नगर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

चीनको एक्जिम बैंकबाट सरकारले २ प्रतिशत ब्याजदरमा उक्त ऋण लिएको हो, सेवा शुल्क समेत गर्दा यसको प्रभावकारी व्याजदर दुई प्रतिशत माथि नै हुन्छ ।नेपालले पूर्वाधार विकासका लागि लिएका ऋणमध्ये चिनियाँ ऋण सबैभन्दा महँगो ब्याजको ऋण हो ।  सरकारले उक्त ऋण लिएर नागरिक उड्ययन प्राधिकरणलाई ५ प्रतिशत ब्याजमा विमानस्थल निर्माणका लागि उपलब्ध गराएको हो । 

पोखरा विमानस्थल सञ्चालनका लागि धावनमार्ग (रनवे)को अप्रोचमा पर्ने रिठेपानी डाँडा काट्नुपर्ने नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । उडान र अवतरणमा असहज हुने भएकाले उक्त डाँडा कटान गर्न पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भैसकेको छ, जसमा उक्त डाँडा कटानमा ६०० रुख काट्नुपर्ने उल्लेख छ । 

‘यसले गर्दा उक्त ऋणको साँवा ब्याज भुक्तानी गर्नुपर्ने घडीको सुई घुम्न शुरु हुँदा पनि विमानस्थल सञ्चालनमा आउँदैन,’ मन्त्रालयका ती अधिकारीले भने, ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलचाहिँ राम्ररी सञ्चालन होला । पोखराबाट त कति अन्तर्राष्ट्रिय उडान होला र !’ 

चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले नै विमानस्थलको लागत अनुमान तयार पारेको हो भने भने निर्माणको काम पनि उसैले गरेको हो । सरकारले यही असारभित्रै विमानस्थल सञ्चालनमा ल्याउने भनेपनि उक्त लक्ष्यभित्रै विमानस्थल सञ्चालनमा आउन कठिन देखिन्छ । 

पोखरा विमानस्थल र चिनियाँ जहाजमा ऋण नेपालका लागि अनुत्पादक र ऋणको भारी मात्र भएको वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट जीवन पौडेल बताउँछन् । 

‘पोखरा एयरपोर्टका निम्ति चीनको एक्जिम बैंकसँग वार्षिक २ प्रतिशतमा लिएको अमेरिकी डलर २१ करोड ६० लाख ऋण २०९२ असोजसम्म साँवा–ब्याजसहित चुक्ता गर्न वार्षिक न्यूनतम २ अर्ब रुपैयाँ भन्दा बढीको सञ्चालन मुनाफा सुनिश्चित हुनुपर्छ,’ उनले भने, ‘त्रिभुवन विमानस्थलदेखि मुलुकका सबै विमानस्थल सञ्चालन गरेको नागरिक उड्डयन प्राधिकरणले वित्तीय व्यवस्थाको यथार्थ लागत अगाडि मुस्किलले वार्षिक २ अर्बको नाफा देखाएको छ ।’ 

उनले लेखाको सर्वमान्य सिद्धान्त बमोजिम सञ्चालन नतिजा गणना गरिएको खण्डमा ठूलो नोक्सानी हुने अवस्था देख्दादेख्दै पोखरा विमानस्थलले २०९२ असोजसम्म साँवा–ब्याज चुक्ता गर्न सक्छ भन्ने विश्लेषणका आधारमा ऋण सम्झौता गरिएको अनि जसले ऋण दिएको हो उसैलाई अपारदर्शी ढंगले ठेक्का समेत प्रदान गरिनु बिडम्बना भएको बताए । 

चिनियाँ जहाजमा पनि समस्या 

त्यस्तै, नेपाल वायु सेवा निगमले ग्राउन्डेड रहेका चिनियाँ जहाज सञ्चालनका लागि सरकारसँग १४ करोड रुपैयाँ माग गरेको छ । नेपालले चीनको एक्जिम बैंकसँगै ऋण लिएर एउटा एमए ६० र ३ वटा वाई१२ जहाज खरिद गरेको थियो । एमए ६० अप्रिल २०१४ र वाई१२ सन् २०१४ कै नोभेम्बरमा पहिलोपटक नेपाल ल्याईएको थियो । चीनबाट जहाज किन्दा नेपाललाई चीनले एउटा वाई१२ र एउटा एमए६० सित्तैमा दिएको थियो । यद्यपि यी जहाज उडाउँदा वायु सेवा निगमलाई उल्टै घाटा छ । पूर्व पर्यटन सचिव सुशील घिमिरे संयोजकत्वको एउटा अध्ययन कार्यदलले यी जहाज  बिक्रेता एभिक इन्टरनेशललाई नै फिर्ता पठाउन सुझाव दिएको थियो । 

यी जहाज किन्न २०६९ असोजमा ऋण सम्झौता हुँदा ऋणको ब्याज १.५ प्रतिशत हुने र २० वर्षभित्र साँवा ब्याज भुक्तानी गरिसक्नुपर्ने उल्लेख छ । सम्झौतामा शुरुको ७ वर्ष साँवाब्याज भुक्तानी गर्नुनपर्ने र सात वर्षपछि ऋणको साँवाब्याज भुक्तानी गर्नुपर्ने प्रावधान राखिएको थियो । चार ओटा जहाज किन्न र अनुदानमा आएका बाँकी दुई चिनियाँ जहाज समेतको भन्सार गरी चिनियाँ जहाजको ऋण तीन अर्ब १४ करोड रुपैयाँ बराबर छ । चीनको एक्जिम बैंकले जहाज खरिदको ऋणको साँवा ब्याज भुक्तानीका लागि ताकेता गरिरहेकाे छ ।