मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

देश आधुनिकतातर्फ अघि बढ्यो : प्रधानमन्त्री ओली

काठमाडौँ  :  प्रधानमन्त्री केपी ओलीले देश अब आधुनिकतातर्फ अगाडि बढेको बताएका छन् । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उद्योगी व्यवसायीसँगको छलफलमा बोल्दै ओलीले यस्तो बताएका हुन् । ओलीले आधुनिकता टल्काउने नाममा इतिहासलाई भुल्न नसक्ने पनि बताए । कोरोना संक्रमणका कारण नेपालको पर्यटन क्षेत्र समस्यामा परेको स्वीकार गर्दै ओलीले कोरोनाका कारण केही काम गर्न नसकेको बताए । 

उद्योगी व्यवसायीलाई राजनीतिक विषय सुनाउनु आवश्यक नभएको भन्दै ओलीले उद्योग र व्यवसायका क्षेत्रमा आफूले गरेका कामबारे जानकारी गराए । एमालेको एउटा समूहले राष्ट्रिय भेला गरेकोप्रति व्यङ्ग्य गर्दै ओलीले त्यो व्यवसायीका लागि सरोकारको विषय नै नभएको बताए ।    ओलीले कृषि, उद्योग र सबै क्षेत्रमा समृद्ध नेपाल बनाउने चाहना रहेको प्रष्ट पारे । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अझै कोरोनाका कारणले ४० प्रतिशत औद्योगिक क्षेत्र समस्यामै रहेको बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले नेपाली उद्योगका लागि सहज व्यापार गर्न, पूर्वाधारमा लगानी बढाउन, स्वदेशी उत्पादनलाई बढाउन र निर्यात गर्न अझै प्रभावकारी सरकारी नीतिको खाँचो रहेकोमा जोड दिए ।