नेपालबाट निर्यात हुने खानेतेलमा रोक लगाउने भारतको संकेत
अस्वाभाविक निर्यातमा दूतावासले खोज्यो उत्पत्तिको प्रमाणपत्र

काठमाडौं : नेपालबाट अस्वाभाविक मात्रामा भारततर्फ निर्यात भइरहेको खानेतेलबारे भारतले चासो देखाएको छ । भारतीय दूतावासले परराष्ट्र मन्त्रालयसँग त्यस्तो तेलको उत्पत्तिको प्रमाणपत्रको आधिकारिकता समेत मागेको छ ।
पछिल्लो समय नेपालबाट अस्वाभाविक मात्रामा भटमासको तेल निर्यात भइरहेको भन्सार विभागकै तथ्यांकले देखाउँछ । विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ८ महिनामा २३ अर्ब १२ करोड रुपैयाँ बराबर भटमासको तेल निर्यात भएको छ । गत आवको सात महिनामा १९ अर्ब ५९ करोड रुपैयाँ मात्रै भटमासको तेल आयात भएको थियो ।
नेपालमा ठूलो परिमाणमा खेती नहुने भटमासको तेल निर्यात भएपछि सरोकारवालाहरूले चासो देखाएका थिए । पाम आयलकै बाटोमा भटमासको तेल जाने आकलन गरिएको थियो । पाम आयलको सन्दर्भमा भारतले मूल्य अभिवृद्धिको विषयलाई लिएर आशंका व्यक्त गरेको थियो । नेपाली पक्षले चित्तबुझ्दो जवाफ नदिएपछि भारतले पाम आयलमा प्रतिबन्ध लगायो ।
खानेतेलको विषयमा पनि पाम आयलकै नियति दोहोरिने देखिएको छ । भन्सार विभागको तथ्यांकले अस्वाभाविक निर्यातको तथ्यांक देखाइरहँदा सरकारी पक्ष ‘कानमा तेल’ हालेर बस्यो । तर, भारतले तेलको उत्पत्तिको प्रमाणपत्र मागेपछि वाणिज्य मन्त्रालयका कर्मचारीहरू बल्ल छलफलमा जुटेका छन् । दूतावासले पठाएको पत्रमा दक्षिण एसियाली क्षेत्रीय संगठन सार्क अन्तर्गत दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र सम्झौता (साफ्टा) को दफा १५ लाई आधार बनाई उत्पत्तिको प्रमाणपत्रको आधकारिता खोजेको छ ।
साफ्टाअनुसार आयातकर्ता मुलुकले आफ्नो मुलुकमा आयात हुने वस्तुको उत्पत्तिको विषयमा आशंका लागेमा निर्यातकर्ता मुलुकसँग पूर्वप्रभावी जाँचका लागि निवदेन दिन सक्छ । त्यति मात्र होइन, आयात गर्ने मुलुकले जाँच सम्पन्न नभएसम्म त्यस्तो वस्तुमा दिइरहेको सहुलियतपूर्ण व्यवस्था हटाउन सक्छ । यही व्यवस्थाको अधीनमा रहेर आफूले उत्पत्तिको प्रमाणपत्र मागेको दूतावासले जानकारी दिएको छ ।
आठ महिनामा भटमास मात्र होइन सूर्यमुखी तेलको समेत आयात बढेको देखिन्छ । जबकि गत आर्थिक वर्षमा सूर्यमुखी तेल निर्यात नभएको तथ्यांकले देखाउँछ ।
कच्चा तेलको आयात गरेर प्रशोधन
चालू आर्थिक वर्षमा कच्चा तेलको आयात बढेको छ । भारततर्फ निर्यात भइरहेको भटमास तेलकै परिमाणभन्दा कच्चा तेलको आयात भइरहेको भन्सारको तथ्यांकले देखाएको छ । आठ महिनामा २४ अर्ब रुपैयाँ बराबरको कच्चा भटमासको तेल आयात भएको छ । जबकि गत आर्थिक वर्षभरिकै तथ्यांकअनुसार १८ अर्ब रुपैयाँ ७२ करोड रुपैयाँ मात्रै कच्चा तेल आयात भएको देखिन्छ ।
यसले निर्यात गरिएको प्रशोधित सूर्यमुखी तेलका लागि कच्चापदार्थ विदेशबाटै आयात भएको तथ्यांकमा प्रष्ट हुन्छ । नेपाली व्यवसायीले दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रको लाभ उठाउँदै नेपालमा तेल प्रशोधन गरेर भारत निर्यात गर्ने गरेका छन् ।
यसअघि व्यवसायीले दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) को लाभ उठाएर पाम आयल निर्यात गर्थे । अतिकम विकसित मुलुकबाट हुने वस्तुजन्य आयातमा शून्य महसुल (ट्यारिफ) को व्यवस्था विश्व व्यापार संगठनको ‘रुगिरो इनिसिएटिभ’ मा छ । साफ्टामा पनि यस्तै व्यवस्था छ ।
भारतमा खाने तेलको माग उच्च छ । नेपाली व्यवसायीले कच्चा सामग्री आयात गरी शून्य ट्यारिफ भारतमा निर्यात गर्छन् । यस्ता तेल अन्य देशबाट आयात हुँदा उच्च ट्यारिफ लाग्ने छ । आयातित कच्चा तेल प्रशोधन गरी नेपाली व्यवसायीले ३० प्रतिशतसम्म मूल्य अभिवृद्धिसहित नाफा गर्ने गरेको दाबी गर्छन् ।

निजी क्षेत्रमा कर्जा प्रवाह ७.१ प्रतिशतले बढ्यो

सुन चाँदी दुबैको घटयो मुल्य

शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

सगरमाथालाई नजिकैबाट नियाल्न गौरीटाप

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण

पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’

प्रतिक्रिया