सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

शहीद स्मारक बी डिभिजन लिगमा टुसाल विजयी

फाइल फोटो

काठमाडौँ - शहीद स्मारक बी डिभिजन लिग फुटबलमा टुसाल युथ क्लब विजयी भएको छ । टुसालले वीरगञ्ज युनाइटेड क्लबलाई पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा टुसाल युथले वीरगञ्ज युनाइटेडलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।

 टुसालका लागि एसपीजङ्ग कार्की र ओमप्रकाश रोकाले दुई÷दुई गोल गरे । कार्कीले खेलको २४औँ मिनेट गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । त्यस्तै रोकाले खेलको ६४औँ मिनेटमा गोल गरेका थिए । 

रोकाले खेलको ६८औँ मिनेटमा अर्को गोल थप्दै टुसालको अग्रता तेब्बर बनाए भने कार्कीले खेलको ९०औँ मिनेटमा गोल गर्दै टुसाललाई ४–० ले जित दिलाए ।

 जितसँगै टुसाल युथ आठ खेलमा ११ अङ्क जोडेर छैटौँ स्थानमा उक्लिएको छ । लिगमा १४ क्लब सहभागी छन । शीर्ष दुई टोली ‘ए’ डिभिजन लिगमा बढुवा हुने छन् भने पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।