यस्तो छ कर्णालीमा चुनावको तयारी

सुर्खेत- स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा आवश्यक तयारीलाई तीव्र पारिएको छ । जिल्लास्थित निर्वाचन कार्यालहरू चुनावपूर्वका काममा जुटेका छन् भने राजनीतिक दलहरु मतदाता आफ्नो पक्षमा पार्न प्रयास थालेका छन् । निर्वाचन कार्यालयहरूले जनशक्ति व्यवस्थापनलगायतका काम अघि बढाएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
हाल मतदाता नामावलीको आन्तरिक तयारी, सामग्री र कर्मचारी व्यवस्थापन, मतदान केन्द्रको अवलोकन र स्थानीय तहसँग समन्वय भइरहेको हो । कर्णालीका सबै जिल्लामा सुरक्षा समितिमार्फत निर्वाचन केन्द्रको अवस्थाबारे स्थलगत अवलोकन गरिसकिएको निर्वाचन कार्यालयहरूले जनाएका छन् ।
प्रदेश निर्वाचन कार्यालय सुर्खेतले दलहरूले चुनाव चिन्हका लागि दिएका निवेदन अहिले आयोगमा छानबिनका क्रममा रहेको जनाएको छ । ‘दलका पदाधिकारीको संख्यासहित आवेदन आयोगमा पठाएका छौं,’ प्रदेश निर्वाचन अधिकारी चालिसेले इकागजसँग भने, ‘त्यो अहिले छानबिनका क्रममै छ ।’
आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन कार्यालयहरूले चुनाव पूर्वका व्यवस्थापकीय कामहरू तीव्रताका साथ अघि बढाएको जनाइएको छ । प्रदेश निर्वाचन कार्यालयले सुर्खेत र कर्णालीका अन्य जिल्लाका हकमा सम्बन्धित निर्वाचन कार्यालयहरूले व्यवस्थापनका काम अघि बढाएका हुन् । आयोगको निर्देशन बमोजिम आगामी स्थानीय तहको निर्वाचन केन्द्रित भएर निर्वाचन कार्यालयहरू तयारीमा होमिएका छन् ।
दश वटै जिल्लास्थित निर्वाचन कार्यालयले मतदाता नामावलीको संशोधन, सरोकारवाला निकायसँग छलफल, चुनावका लागि जनशक्ति तथा स्रोत–साधनको व्यवस्थापनका काम गरिरहेका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार आयोगले चैत १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्दैछ । मतदाता नामावली आयोगको वेबसाइटमा राख्ने तयारी भइरहेको प्रदेश निर्वाचन अधिकारी चालिसेले बताए ।
सुर्खेतमा दुई लाख ४० हजार मतदाता
प्रारम्भिक विवरणअनुसार सुर्खेतमा दुई लाख ४० हजार आठ सय एक जना मतदाता रहेका छन् । उक्त संख्यामा त्रुटि सच्याउँदा केही घट्न सक्ने आकलन गरिएको छ । दोहोरिएका र मृत्यु भएकाहरूको नाम हटेपछि अन्तिम नामावली प्रकाशन गर्ने तयारी आयोगको छ ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार सुर्खेतका नौ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने क्रममा छ । निर्वाचन अधिकृतको नियुक्ति चैत १३ गतेसम्म हुनेछ । वीरेन्द्रनगर नगरपालिकामा मुख्य निर्वाचन अधिकृत र अन्य आठ वटा पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै छ । निर्वाचनमा खटिने अन्य कर्मचारीको विवरण लिने काम भइरहेको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जनाए ।
मतदान अधिकृतहरूले निर्वाचन गराउने, मतपेटीका संकलन गर्ने र मतपरिणाम घोषणासम्मको काम गर्नेछन् । अहिले प्रदेश निर्वाचन कार्यालयले निर्वाचन अधिकृतको कार्यालय स्थापनका लागि स्थानीय तहसँग छलफल थालेको छ । त्यस्तै, जिल्ला–जिल्लामा म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु गरिएको छ । सुर्खेत जिल्लाभर एक हजार दुई सय म्यादी परिचालन गर्नेगरी भर्नाको प्रक्रिया अघि बढाइएको छ ।
२९ मतदान केन्द्र थप्ने तयारी
नौ वटा स्थानीय तह रहेको सुर्खेतमा मतदान कार्य व्यवस्थित गर्न एक सय ३८ मतदान स्थल निर्धारण गरिएको छ भने दुई सय ९२ मतदान केन्द्रहरू प्रस्ताव गरिएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनभन्दा यो पटक सुर्खेतमा २९ वटा मतदान केन्द्र थप गर्न प्रस्ताव गरिएको हो ।
२०७४ को स्थानीय तह निर्वाचनमा दुई सय ६३ वटा मतदान केन्द्र थिए । मतदान स्थल भने फेरबदल नहुने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । २९ वटा मतदान स्थललाई सुरक्षाको दृष्टिले अतिसंवेदनशील स्थानका रूपमा राखिएको छ । सडक सञ्जाल, सञ्चार र विगतमा भएका झडपको आंकलन गरी सुरक्षा समितिले संवेदनशील स्थानका रूपमा हेरेको हो ।
सुर्खेतमा यसअघिका निर्वाचनमा २० वटा मतदानस्थल संवेदनशील मानिएकोमा यसपटक थप नौ वटा स्थललाई पनि जोखिममा राखिएको छ । स् प्रशासन, निर्वाचन कार्यालय र सुरक्षा निकायका अधिकारीहरूले जिल्लाभरका मतदान स्थल तथा केन्द्रहरूको स्थलगत अनुगमन तथा सरोकारवालासँग आवश्यक समन्वय गरिरहेका छन् । अनुगमनका क्रममा संवेदनशील ठानिएका मतदान स्थलमा आवश्यक सुरक्षा व्यवस्थाको तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया