मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

निर्वाचनमा शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरण बनाउन गृहमन्त्रीको निर्देशन

फाइल तस्‍बिर

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तहको निर्वाचनमा शान्तिपूर्ण, निष्पक्ष, भयरहित वातावरण सिर्जना गर्न निर्देशन दिएका छन् । बिहीबार गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री खाणले सुरक्षा निकायलाई यस्तो निर्देशन दिएका हुन् । 

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार बैठकमा चिनियाँ विदेशमन्त्रीको सुरक्षा तयारीका बारेमा पनि छलफल भएको थियो । चिनियाँ विदेशमन्त्री वाङ यी भोलि (शुक्रबार) तीन दिने नेपाल भ्रमणमा आउँदै छन् । त्यस्तै बैठकमा समसामयिक सुरक्षा स्थिति र निर्वाचनको तयारीका बारेमा पनि छलफल भएको गृहमन्त्रालयका प्रवक्ता पोखरेलले बताए ।

‘समसामयिक सुरक्षा स्थितिको बारेमा छलफल भयो । निर्वाचनका सम्बन्धमा हामीले अपनाउनु पर्ने रणनीतिका सम्बन्धमा, शान्तिपूर्णरुपमा निर्वाचन सञ्चालन गर्दा अपनाउनु पर्ने रणनीतिका बारे हामीले छलफल गर्‍यौँ,’ प्रवक्ता पोखरेलले भने, ‘ गृहमन्त्रीले शान्तिपूर्ण, निष्पक्ष, भयरहित वातावरण सिर्जना गर्नलाई सबैले आ–आफ्नो ठाउँबाट खटेर योगदान गर्नुपर्छ भन्नुभयो । मित्र राष्ट्र चीनका विदेशमन्त्रीको भ्रमण भोलि छ, त्यसको पनि सुरक्षा तयारी राम्रोसँग भइरहेको छ ।’