आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

'श्रममन्त्री श्रेष्ठको त्रिदेशीय भ्रमण फलदायी'

काठमाडौं –  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको त्रिदेशीय भ्रमण मुलुकका लागि फलदायी भएको मन्त्रालयले जनाएको छ । गत  फागुन ३० गतेदेखि मंगलबारसम्म मन्त्री श्रेष्ठ नेतृत्वमा भएको संयुक्त अरब इमिरेट्स (युएई ), सेसेल्स र कतारको भ्रमण गरेका थिए । 

उक्त भ्रमण पुरा गरी स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँले नेपाली श्रमिकहरूको हित र सुरक्षाबारे गन्तव्य मुलुकका मन्त्री र सरकारी अधिकारीहरूसँग भएको द्विपक्षीय छलफल दीर्घकालीन महत्वको रहेको बताए ।

संयुक्त अरब इमिरेट्स (युएई ) मा पर्यटन भिसामा पुगी अलपत्र परेका नेपालीहरूको समस्या समाधानका विषयमा त्यहाँका मानव संशाधनमन्त्री अव्दुल रहमान अव्दुलमानन अल अवारसँग छलफल गरेका थिए । 

उक्त भेटमा अलपत्र परेका नेपालीहरूलाई युएईमै रोजगारीको अवसर प्रदान गर्ने, भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने बाध्यता भएकाहरुलाई आममाफी दिने तथा उद्धार गर्नुपर्नेलाई नेपाल फिर्ता गर्न युएई सरकारले सहयोगको प्रतिवद्धता जनाएको थियो । 

अलपत्र परेका नेपालीहरूको समस्या समाधान गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउन दुई देश मिलेर काम गर्ने सहमति पनि भएको थियो । संयुक्त अरव इमिरेट्सका आफ्ना समकक्षीका अतिरिक्त त्यहाँका उच्चपदस्थ अधिकारी र नेपाली श्रमिकहरूसँग पनि मन्त्री श्रेष्ठले छलफल गरेका थिए । मन्त्री अवारले  युएई सरकारले नेपालमा सीप विकास तालिम केन्द्र स्थापना र क्षमता वृद्धिमा लगानी गरी दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्ने र श्रमिक अस्पताल निर्माणमा पनि युएई सरकारले सहयोग गर्ने बताए । 

भ्रमणको क्रममा नेपाल–युएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्सको राजधानी आबुधाबीमा सम्पन्न भएको छ । आबुधाबीस्थित संयुक्त अरब इमिरेट्सको मानव संशाधन मन्त्रालयमा भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठकका निर्णय कार्यन्वयनको अवस्थाबारे समीक्षा भएको थियो । युएईमा रहेका नेपालीहरूलाई कामका आधारमा विभिन्न १९ क्षेत्रमा वर्गीकरण गरी त्यसमध्ये ५ वटा क्षेत्रमा श्रमिक भर्ना प्रकृया पूर्णत नि:शुल्क गर्ने सहमति पनि भएको छ । 

युएईमा रहँदा मन्त्री श्रेष्ठले श्रेष्ठले नेपाली समुदायका अगुवा, श्रमिक तथा व्यवसायीहरूसँग अन्तरक्रिया समेत गरेका थिए । संयुक्त अरव इमिरेट्सको भ्रमणकै क्रममा मन्त्री श्रेष्ठ नेतृत्वको टोलीले तडवीर सेन्टर भ्रमण गरी घरेलु कामदारका रुपमा जाने श्रमिकको सेवा, सर्त र सुरक्षाबारे सरकारी अधिकारी तथा सरोकारवालाबाट जानकारी पनि लिएका थिए ।

गणतन्त्र सिसेल्सको भ्रमणका क्रममा  मन्त्री श्रेष्ठसँग रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका फ्यानकोट र आन्तरिक मामिलामन्त्री इरोल फोन्स्काले द्विपक्षीय भेटवार्ता गरी श्रम सम्झौतालाई छिट्टै ट्ङ्गोमा पुर्याउन संयुक्त कार्यदल गठन गर्ने सहमति भएको छ  । सम्झौतासँगै सिसेल्सको जेल सुरक्षा, प्रहरी सेवाका साथै होटल तथा पर्यटन क्षेत्रमा नेपाली श्रमिक लैजान बाटो खुल्नेछ ।  

कतार भ्रमणका क्रममा  मन्त्री श्रेष्ठले कतारका श्रममन्त्री डा. अल वीन समिख अल मारीसँग भेटवार्ता गरी नेपाल–कतार सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा विमर्श गरेका थिए । भ्रमणकै क्रममा नेपाल र कतारबीच श्रम सम्झौता नवीकरणका लागि सचिवस्तरीय र कार्यदल स्तरमा पनि छलफल भई जुन महिनाभित्र हस्ताक्षर समारोह सम्पन्न गर्ने सहमति भएको छ । 

भ्रमण टोलीमा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्वर भुसाल थिए ।