पूर्व सूचना र तयारीसँगै सम्भावित क्षतिबारे सजग हुन आवश्यक

काठमाडौँ - विश्व मौसम सङ्गठन स्थापना भएको दिन (मार्च २३, सन् १९५०) को सम्झनामा हरेक वर्ष मार्च २३ लाई विश्व मौसम दिवस को रुपमा मनाउने गरिन्छ । बुधबार नेपालमा पनि ‘पूर्वसूचना र पूर्वतयारी’ भन्ने मूल नाराका साथ विविध कार्यक्रम आयोजना गरी विश्व मौसम दिवस, २०७८ मनाइएको छ ।
यस वर्षको विश्व मौसम दिवसको मूल विषय ‘प्रारम्भिक चेतावनी र प्रारम्भिक कार्य ः प्रकोप जोखिम न्यूनीकरणको लागि जल मौसम विज्ञान र जलवायु जानकारी’ रहेको छ । यसले विपद् जोखिम न्यूनीकरणका निम्ति जल–मौसम र जलवायुको पूर्वसूचना तथा त्यसैअनुसारको पूर्वतयारीको अपरिहार्यतालाई जोड दिँदै विश्व समुदायको ध्यानाकर्षण गराएको छ ।
दिवसका अवसरमा बुधबार जल तथा मौसम विज्ञान विभागद्वारा आयोजित कार्यक्रममा मौसम, जलवायु र जल विज्ञानका विविध क्षेत्रमा आबद्ध व्यक्तित्व, सङ्घसंस्था र सरोकारवाला निकायका विज्ञहरुले मौसमी पूर्वसूचना र तयारीसँगै सम्भावित क्षतिबारे सजग हुन आवश्यक रहेकामा जोड दिएका छन् । जल तथा मौसम सेवाको उत्पादन र प्रयोगलाई अभिवृद्धि गर्दै दिगो विकास एवं समृद्धि र विपद् जोखिम न्यूनीकरणमा योगदान पु¥याउन सवै सरोकारवालाबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने विज्ञहरुको धारणा छ ।
कार्यक्रममा जल तथा ऊर्जा आयोगका सचिव दिनेशकुमार घिमिरेले आगामी दिनमा नारा अनुसारको प्रभावकारी काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै पूर्वतयारीका सूचनाका सम्बन्धमा थप काम गर्नुपर्ने बारेमा सुझाव दिए । उनले बाढी पहिरो र वर्षाको जस्तै सुक्खा र खडेरीका बारेमा समेत पूर्वसूचना प्रवाह गर्नुपर्नेमा जोड दिए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागरकुमार राईले विभागले गर्दै आएको पूर्वसूचना प्रणालीमा नयाँ र आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै जनतासमक्ष सूचना प्रवाहका लागि सञ्चारमाध्यमको सहयोग अपरिहार्य रहने उल्लेख गरे ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले पछिल्लो समयमा मौसमी विपद्का घट्ना बढिरहेको सन्दर्भमा यसलाई न्यूनीकरण गर्न सम्बन्धित सबै निकायबीच आपसी सहयोग र समन्वयको खाँचो औँल्याए ।
मन्त्रालयका सहसचिव एवं विश्व मौसम सङ्गठनका स्थायी प्रतिनिधि रामगोपाल खरर्वुर्जाले मौसमी विपद् कुनै एक देशमा मात्र सीमित नहुने भएकाले यसमा अन्तर्राष्ट्रिय समन्वय र सहयोगको आवश्यकता हुनुपर्ने बताए ।
विभागका महानिर्देशक कमलराम जोशीले गत वर्षायाममा पूर्वसूचना प्राप्त भए पनि त्यसबाट हुने सम्भावित क्षतिलाई आकलन गर्न नसक्दा मुलुकले बेमौसमी वर्षाको विपद्बाट ठूलो जनधनको क्षति बेहोर्नुपरेको बताए ।
मौसमी विपद्बाट जोगिन पूर्वसूचना र पूर्वतयारीका साथै सम्भावित क्षतिको आकलन गरी सोहीअनुसार तयारी गर्न राज्यका सबै निकाय लाग्नुपर्ने उनको भनाइ थियो ।
जलवायु परिवर्तनको कारणले जल तथा मौसमजन्य विषम घटनाहरु हावापानी, जलवायु र अति वर्षाका बारम्बार अस्वभाविकरुपमा घट्ने तथा विगतको भन्दा थप विनासकारीरुपमा देखा पर्ने र मौसमी चक्रको प्राकृतिक स्वरुपमा समेत परिवर्तन भइरहेको देखिन्छ । नेपालमा पनि अत्यधिक गर्मी, सुक्खा÷खडेरी, भारी वर्षा, शीतलहर, चट्याङ, बाढीजस्ता मौसमी प्रकोपका विपद्मा बढोत्तरी भइरहेको छ ।
जीवन र जीविकोपार्जनलाई यस्ता विपद्का जोखिमको सङ्कटबाट बचाउन प्रभावमा आधारित पूर्वानुमानसहितको पूर्वसूचनाको अत्यन्त महत्व छ । यस्ता सूचना तथा पूर्वानुमान सर्वसाधारण र विपद् व्यवस्थापनमा सम्बद्ध निकायहरुका लागि विपद् जोखिमको न्यूनीकरण तथा रोकथाम, पूर्वतयारी र प्रतिकार्यका निमित्त कोसेढुङ्गा सावित हुने गर्दछन । सही समयमा सही पूर्वानुमान र सूचनाको सम्प्रेषण तथा त्यसको प्रयोग गर्न सदैव तयार रहन र सक्षम हुन सकेमात्र जल तथा मौसमजन्य प्रकोपबाट जनधनको सुरक्षा गर्न सकिन्छ ।
विभागले पूर्वसूचना प्रदान गर्ने, जल, मौसम जलवायु र जलवायु परिवर्तनसम्बन्धी तथ्याङ्क प्रदान गर्ने र जोखिमयुक्त हिमनदी तथा हिमतालको नियमित अनुगमनका साथै जलवायु तथ्याङ्कलाई अद्यावधिक राख्ने काम गर्दै आएको छ ।
साथै नदी जलाधारमा आवश्यक जलमापन र मौसम मापन केन्द्रहरुको विस्तार गर्न र जल तथा मौसमजन्य प्रकोपको अनुगमन, पूर्वानुमान तथा पूर्वसूचना प्रणालीकोे थप विकास र विस्तारलाई उच्च प्राथमिकता राखेको विभागले जनाएको छ । रासस

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया