आइतबार ११ साउन, २०८२
Sunday, July 27, 2025

एमाले प्रवेशपछि करिष्माको प्रतिक्रिया : पानी झैँ बग्‍न राजनीतिमा आएकी हुँ

तस्बिर सौजन्य : राजन काफ्ले

काठमाडौँ - करिष्मा मानन्धरले गतिवान बन्ने लालसाले एमाले प्रवेश गरेको जनाएकी छिन् । मंगलबार एमाले प्रवेश गरेपछि प्रतिक्रिया दिँदै आफूले एमाले रोज्ने कारणसहित व्यक्तिगत रुपमा पनि नयाँ गन्तव्यमा हिँड्ने अभिप्रायले राजनीतिमा पुनः जोडिएको र यसका लागि एमालेको छनौट गरेको बताएकी हुन् ।

‘हुन त मैले तीन दशकदेखि कलाकारिता गरेर मुलुककै लागि केही न केही योगदान गरिरहेको छु भन्ने ठानेकी छु । तर पछिल्लो समयमा अब के त भन्ने प्रश्नमा मेरो मनमा आइरह्यो,’ उनले भनिन्, ‘ यही बीचमा मेरा शुभचिन्तक तथा म आफैँलाई पनि यहीँ मात्र रोकिनुहुन्न भन्ने लागेपछि जसरी बगेको पानीमा लेऊ लाग्दैन भनिन्छ, त्यसरी नै म पनि बग्न आएकी हुँ ।’

उनले छोटो मन्तव्यका क्रममा आफू एमालेमा आउँदा कार्यकर्तामा के सौदाबाजी गरेर आइ, अथवा किन एमाले नै छानी भन्ने खालको प्रश्नहरू हुनसक्ने अनुमान प्रस्तुत गर्दै उनले दुई कारणले एमाले छानेको बताएकी थिइन् ।‘पहिलो कारण त अध्यक्षज्यू नै हुनुहुन्छ । यो ६ महिनामा मैले दुई चोटि उहाँलाई भेटेँ र दुवै भेटमा उहाँको इनर्जी देखेर कायल भएँ,’ उनले भनिन्, ‘अर्को चाहिँ परिवर्तन र समृद्धिको ट्रु सेन्समा एजेन्डा बोक्ने पार्टी पनि यही नै भन्ने लागेर म यहाँ आएकी हुँ ।’

उनले मुलुकको समृद्धिको लागि राजनीतिमा फर्कन निर्णय गरेको बताउँदै आफू कार्यकर्ताको रुपमा मात्र पार्टी प्रवेश गरेको तर भोलि पार्टीले भविष्यमा कुनै जिम्मेवारी दिए पछि नहट्ने बताएकी थिइन् ।