आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

दुई महिनामा सबै सेवाग्राहीको लाइसेन्सको परीक्षा लिइसक्ने

फाइल फोटो

काठमाडौँ - अबको दुई महिनामा चालक अनुमतिपत्र परीक्षाका लागि फारम भरेका सबैको परीक्षा लिइसकिने योजना बनाइएको छ । झन्डै पाँच लाख ७२ हजारले फारम भरेकामा उनीहरुको परीक्षा सञ्चालन हुनेछ । 

यातायात व्यवस्था कार्यालयले अनुमतिपत्रको परीक्षा सञ्चालन गर्न बाँकी रहेकामा पहिले यातायात व्यवस्था विभागले नयाँ अनुमतिपत्रका लागि अनलाइन फारम स्थगित गरेको छ । 

फारम भरेका सेवाग्राहीकै लामो समयसम्म पालो नआएकाले नयाँ फारम तत्कालका लागि नखुलाइएको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए । उनका अनुसार आगामी जेठ १६ गतेसम्म सबै अनुमतिपत्रको छपाइ सकिनेछ । सबै कार्यालयसँगको सल्लाहमा अहिलेका लागि फारम भर्न रोकिएको उनले बताए । उनले भने, `कार्यालयको क्षमताभन्दा सेवाग्राहीको चाप बढी भएकाले व्यवस्थापन गर्न गाह्रो भएको छ ।`

सेवा प्रदायक संस्थाले सेवा अवरुद्ध गर्दा नागरिकलाई असुविधा पुग्ने देखिएको छ । अहिले फारम भरेका सेवाग्राहीको पनि पालो आउन झन्डै एक–डेढ वर्षसम्म लाग्ने देखिएकाले फारम भरे पनि नागरिकलाई सजिलो नहुने प्रवक्ता भुसालले बताए । 

अहिले एकपटक सबै बाँकी सकाएमा त्यसपछि फारम भरेको छोटो समयमा नै पालो आउनसक्छ । उनले भने, `सेवाग्राहीको फारम भरेको एक सातामा नै पालो आओस् भन्ने हाम्रो चाहना हो ।`

देशभरका सबै यातायात कार्यालयले आफ्नो जनशक्ति र क्षमता बढाएर पनि चाँडो सबै बाँकी परीक्षा सञ्चालन गर्नुपर्नेमा विभागको जोड छ । 

यो दुई महिनामा सबै कार्यालयले क्षमता बढाएर सबै (पाँच लाख ७२ हजार)को परीक्षा लिइसक्नुपर्नेमा उनले जोड दिए । देशभरका २३ यातायात कार्यालयमध्ये सबैभन्दा बढी चाप काठमाडौँ उपत्यकाका कार्यालयमा छ ।

एकान्तकुनास्थित कार्यालयमा झन्डै एकदेखि डेढ वर्षसम्ममा पालो आउने गरेको छ । यी कार्यालयले भएका जनशक्ति बढाएर चाँडो गराउन लाग्नुपर्ने उनको जोड छ । अहिले यी सबै कार्यालयले गरी दैनिक पाँच हजारको परीक्षा सञ्चालन गर्दै आएका छन् । यिनले क्षमता बढाएर सात आठ हजार जनासम्मको परीक्षा लिएमा अबको दुई महिनामा सकिने उनको भनाइ छ । 

विभागले गत वर्ष कोभिड सङ्क्रमणको जोखिम कम गर्न अनलाइनबाट फारम सुरु गरेको थियो । विभागले फारम भराउने र अनुमतिपत्र छाप्ने काम गर्दै आएको छ । यातायात कार्यालयले परीक्षा सञ्चालन गर्ने, अनुमतिपत्र नवीकरण र वितरण गर्दै आएका छन् । अहिले झन्डै साढे दुई लाख अनुमतिपत्र छाप्न बाँकी रहेको विभागले जनाएको छ । 

रासस