बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

वडा कार्यालय तोडफोड गर्नेलाई कारवाहीको माग

मकवानपुर– वडा कार्यालयमा गरिएको तोडफोड तथा वडा अध्यक्षको कुर्सी सडकमा फ्याँक्ने कार्यमा संलग्नलाई स्थानीयले कारवाहीको माग गरेका छन्।
मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको ८ नम्बर वडा कार्यालयमा शुक्रबार गरिएको तोडफोडविरुद्ध स्थानीयले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै कारवाहीको माग गरिएको हो ।

वडावासीले जिल्ला प्रशासन कार्यालयमा नारावाजी गर्दै मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेलाई आज ज्ञापनपत्र बुझाएका हुन् ।
गत शुक्रबार वडा कार्यालयमा भएको तोडफोड, गालीगलौज, वडा कार्यालयका महिला जनप्रतिनिधि तथा महिला कर्मचारीमाथि दुव्र्यवहार भएको उल्लेख गर्दै ज्ञापनपत्र बुझाइएको छ। टेबल तोडफोड गर्नुका साथै अध्यक्षको कुसी सडकमा फ्याँकेर पेट्रोल लगाई आगजनी समेत गर्न खोजिएको भन्दै वडा कार्यालयले गैरकानुनी र अराजक गतिविधिबाट लज्जित भई अपमानित भएको उल्लेख गरेको छ।

घटनामा संलग्नलाई अविलम्ब पक्राउ गरी कानुन बमोजिम हदैसम्मको कारबाही गरी वडामा शान्ति सुरक्षा कायम गर्न, निर्वाधरूपमा जनताका सेवा कायम गराइराख्न, महिला कर्मचारीको सुरक्षा गर्न वडाले माग गरेको छ ।
शुक्रबारहेटौंडा उपमहानगर –८ को वडा कार्यालयमा तोडफोड गर्दै अध्यक्ष गोपालबहादुर श्रेष्ठको कुर्सी फालिएको थियो । स्थानीय सेवाग्राहीले वडाअध्यक्ष श्रेष्ठ कार्यालयमा नबसेको र सेवाग्राहीलाई पूर्णरुपमा वेवास्ता गरेको आरोप लगाउँदै तोडफोड गरेको दाबी गरेका थिए ।

वडा अध्यक्ष श्रेष्ठ  एमालेबाट निर्वाचित हुन् । लामो समयदेखि उनले सेवा प्रवाहमा पार्टीकरण गरेको आरोप लगाएका छन् । पछिल्लो समय स्थानीय निकायको निर्वाचन नजिकिएसँगै श्रेष्ठ अध्यक्षमा पुनः दोहोर्‍याउन मनसायले पार्टीको काममा बढि ध्यान दिन थालेको स्थानीयले बताएका छन् ।

प्रशासनमा नाराबाजीपछि बुझाएका स्थानीयहरुको साथमा अहिले सहायक प्रमुख जिल्ला अधिकार गैह्रेको अध्यक्षतामा सर्वदलीय संयन्त्रको बैठक बसिरहेको छ ।