प्रतिनिधि नेपाली चलचित्रका पात्र समेटिएको ‘क्लोज-अप’सार्वजनिक

काठमाडौं - नेपाली चलचित्रका केही आयाम र पात्रहरुमा आधारित गैरआख्यान पुस्तक ‘क्लोज-अप’ सार्वजनिक गरिएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चलचित्र पत्रकार जीवन पराजुलीद्वारा लिखित पुस्तकको सार्वजनिकीकरण गरिएको हो । पुस्तकलाई अभिनेत्री करिश्मा मानन्धर, निर्देशक तथा अभिनेत्रीद्वय दीपाश्री निरौला र झरना थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, निर्देशक नारायण पुरी, कवि एवं फिल्म निर्देशक राजेन्द्र शलभ लगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
फिल्म निर्देशक तथा समीक्षक दीपेन्द्र लामाले सम्पादन गरेको पुस्तक ३ सय ६३ पृष्ठको छ । ‘अनि सुरु भयो नेपाली चलचित्र उद्योग’, ‘राजेश हमाल : युगदेखि युगसम्म’, ‘भारतबाट नेपाली चलचित्र : सीमानाले अलग, भाषा र सिर्जनाले एक’, ‘साँघुरो छ आधा आकाश’, ‘चलचित्र निर्देशनमा चौथौं अंग’ र ‘अन्त्यमा’ गरी ६ खण्डमा विभाजित पुस्तकमा विभिन्न कालखण्ड र ति कालखण्डका चलचित्रकर्मीहरुको अनुभव, भोगाइ र संघर्षलाई समेटिएको छ ।
कार्यक्रममा निर्देशक राजेन्द्र शलभले पुस्तकमाथि टिप्पणी गर्दै ‘क्लोज-अप’ एउटा राम्रो दस्तावेज भएको बताउँदै नेपाली चलचित्रलाई नजिकबाट जान्न र बुझ्न चाहनेहरुका लागि उपयोगी हुने धारणा राखे । उनले पुस्तकको अर्को भाग पनि आउन आवश्यक रहेको र छुटेका अन्य पात्रहरुका अनुभवलाई समेट्न लेखकलाई सुझाएका थिए ।
कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धरले डिजिटलको युगमा धेरै कुराहरु इन्टरनेटबाट थाहा पाउन सकिने भएपनि किताबमा जस्तो विश्वास आफूलाई अरुमा नलाग्ने बताइन् । ‘किताबको आफ्नै महत्त्व छ । आजका दिनमा पनि म विश्व सिनेमाको बारेमा जान्न किताब नै खोज्ने गर्छु । किनकि, किताबमा म वास्तविकता भेट्छु । ‘क्लोज-अप’ले पनि नेपाली चलचित्रलाई थप नजिकबाट चिनाउनेछ भन्नेमा विश्वस्त छु,’ उनले भनिन् ।
निर्देशक तथा अभिनेत्री झरना थापाले ‘क्लोज-अप’ले नेपाली चलचित्रकर्मीलाई प्राण भरिदिएकोमा खुसी व्यक्त गरिन् । निर्देशक दीपाश्री निरौलाले भने ‘क्लोज-अप’लाई आफूले नेपाली चलचित्र र चलचित्रकर्मीहरुको दस्तावेजको रुपमा लिएको धारणा राखिन् । उनले कार्यक्रममा भनिन्, ‘चलचित्रकर्मीहरुको यात्रा लाइमलाइटमा रहँदासम्म मात्र देखिन्छ । लाइमलाइटमा हुँदासम्म सबैले वाहवाही गर्छन् तर त्यसपछि हामी थियौं र ! भन्ने खालको स्थिति छ । ‘क्लोज-अप’ले चलचित्रकर्मीलाई लिपिवद्ध गरिदिएको महसुस गरेकी छु ।’
त्यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष दाहालले ‘क्लोज-अप’लाई उत्कृष्ट र सुन्दर सुरुवातको रुपमा ब्याख्या गर्दै भने, ‘नेपाली चलचित्र पत्रकारिता सतहीमात्र भएको अवस्थामा विश्लेषणात्मक लेखसहितको पुस्तकले चलचित्र पत्रकारितालाई नै नयाँ ढंगबाट लैजाने विश्वास लिएको छु । पुस्तकले नेपाली चलचित्रको समग्र इतिहास र पात्रलाई समेट्न नसके पनि भोलिका दिनमा अझ फराकिलो रुपमा पुस्तक ल्याउन म लेखकलाई आग्रह गर्छु ।
पुस्तकबारे कार्यक्रममा अभिनेता उत्तम प्रधान, निर्देशकहरु नारायण पुरी, दिनेश डिसी, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल लगायतले पनि बोलेका थिए । कार्यक्रममा लेखक पराजुलीले पुस्तकमा धेरै पाटो र पात्रहरु समेटिन छुटेको भए पनि चलचित्रको इतिहास झल्किने घटना र सम्बन्धित पात्रका व्यक्तित्वलाई समेटर अरु पुस्तकहरु पनि क्रमशः लेख्दै जाने बताए ।
कार्यक्रममा लेखक पराजुलीले भने, ‘मैले लेखनको एउटा तिर्खा मेटाउन चलचित्र क्षेत्रको केही अंशलाई मात्रै टिपेर पुस्तकको आकार दिएको छु । यो एउटा सुरुवात मात्र हो । पुस्तकलाई पहिलो खण्डको रुपमा मात्र लिन सकिन्छ । पहिलो खण्ड यस अर्थमा कि चलचित्रको इतिहास झल्काउने धेरै कुराहरु लेख्न बाँकी नै छ । त्यस्ता धेरै व्यक्तित्वहरु हुनुहुन्छ, जसले नेपाली चलचित्रलाई आजको स्थानसम्म पुर्याउन योगदान दिनुभएको छ । उहाँहरुका बारेमा लेख्न बाँकी नै छन् ।’
ठुलोपर्दा मिडियाले प्रकाशन गरेको पुस्तकलाई किताब यात्राले अनलाइन बजार व्यवस्थापन गरेको छ । ५९९ रुपैयाँ मुल्य रहेको पुस्तक यसै साताबाट देशभर तथा अमेजन मार्फत संसारभर उपलब्ध हुनेछ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया