भयरहित निर्वाचन गर्न सबै प्रतिबद्ध हुनुपर्छ- प्रधानमन्त्री

काभ्रे - प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन् ।
उनले आज काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाको पोखरी नारायणस्थानमा नवनिर्मित प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनलाई सबै पक्षले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याए ।
`देश अहिले स्थानीय तहको निर्वाचनको सङ्घारमा छ, निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै प्रतिबद्ध हुनु आवश्यक छ`, उनले
भने ।
प्रम देउवाले जनप्रतिनिधिले जनसवालका काम मात्र गरेर नहुने भएकाले काममा पारदर्शिता, गुणस्तरीयता, जवाफदेहिता र जनताको अपनत्व पनि सुनिश्चित गर्नसमेत आवश्यक रहेको बताए ।
उनले भने, `त्यसतर्फ ध्यान दिन म गाउँपालिकाका सबै पदाधिकारीहरूलाई आग्रह गर्छु ।`
मुलुकमा तीन तहको सङ्घीय शासनप्रणाली लागू भएसँगै संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा विभिन्न महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको उनको धारणा थियो ।
प्रम देउवाले नागरिकको नजिकको सरकार भनेकै स्थानीय तह भएकाले यस सरकारसँग अपेक्षा हुनु स्वाभाविक रहेको उल्लेख गरे ।
`सीमित स्रोत–साधानका बाबजुद स्थानीय सरकारले जनताको अपेक्षा र भावना बमोजिमको काम सम्पन्न गरेर जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहिता निर्वाह गर्न सक्नुपर्दछ`, उनले भने ।
प्रधानमन्त्री देउवाले स्थानीय सरकारले गरेका काम र प्रदान गरेको सेवा सुविधाको प्रभाव जनतामा प्रत्यक्ष र छिटो पर्ने हुँदा जनताको काम छिटो–छरितो ढङ्गले बिना कुनै ‘मरमोलाहिजा’ सम्पन्न गरी आम नागरिकमा सुशासनको प्रत्याभूति गराउनु स्थानीय तहको मुख्य कर्तव्य रहेको बताए ।
यसअघि प्रम देउवाले तेमाल गाउँपालिका–५ पोखरी नारायणस्थानस्थित एकै स्थानमा निर्मित स्वयम्भु, बौद्ध, नमोबुद्ध स्तुपाको उद्घाटनसमेत गरेका थिए ।
नेपाली कांग्रेसका जिल्ला सभापति तीर्थ लामा, नेकपा (माओवादी केन्द्र)का जिल्ला इन्चार्ज सूर्यमान दोङ, नेपाली कांग्रेस तेमाल गाउँपालिका सभापति ज्ञानबहादुर लामाले गाउँपालिकाले जनहितलाई केन्द्रविन्दुमा राखेर काम गरेको बताए ।
सो अवसरमा गाउँपालिका अध्यक्ष सलामसिंह तामाङले चार करोड ६४ लाखमा गाउँपालिकाको तीनतले प्रशासकीय भवन निर्माण सम्पन्न गरेको बताए ।

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

मुलुकको अर्थतन्त्र चालु बर्षमा ४ खर्बले बढयो, पुग्यो ६१ खर्ब

परराष्ट्र मन्त्रालयले भन्यो– ‘स्पेनबाट सबै फर्किएका छन्, भ्रममा नपरौँ’

प्रतिक्रिया