विश्व समुदायबाट एक्लिदै बर्मा

काठमाडौँ : बर्मामा नागरिक आन्दोलन दबाउने नाममा इन्टरनेट सुविधा सिमित गरिएको छ । बिहीबार त झन् त्यहाँको लोकप्रिय दैनिक दि स्टान्डर्ड टाइम डेलीले आफ्नो प्रकाशन बन्द गरेको घोषणा गर्यो । स्टान्डर्ड डेली बर्मामा बन्द हुने निजी क्षेत्रको पछिल्लो अबखार हो । इन्टरनेट र सञ्चार माध्यमको सूचना प्रकाशन र प्रशारण गर्ने कार्यमा रोकावट आउँदै गर्दा बर्मा बाँकी विश्वबाट एक्लिदैछ ।
फ्रेबुअरी १ मा सेनाले सत्ता हातमा लिएपछि नागरिक आन्दोलन जारी छ । आन्दोलन मत्थर बनाउन सेनाले विभिन्न कदम चालेपछि बर्माका सञ्चार माध्यम र इन्टरनेट प्रयोगकर्ता प्रभावित भएका हुन् । जसका कारण त्यहाँ भइरहेको नागरिक आन्दोलनबारे प्रवाह भइरहेको सूचनामा व्यवधान आउने अवस्था सिर्जना भएको छ ।
त्यति मात्रै होइन, बर्मेली आन्दोलनमा ज्यान गुमाउनेको संख्या बढ्दो छ । अहिलेसम्म दुई सय १७ बर्मेलीको मृत्य भइसकेको आकँडा छ । यद्यपि त्यो भन्दा ठूलो संख्यामा आन्दोलनकारी मारिएको हुनसक्ने मानवअधिकारवादी संस्था एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स एक्टिभिस्टको भनाइ छ ।
धेरैले ज्यान गुमाइसकेको बर्मेली नागरिक आन्दोलनका विषयमा पश्चिमा मुलुकले चासो व्यक्त गरेका छन् । सैन्य 'कू'को विरोध गर्दै आङ साङ सूकी लगायतका बन्दीहरूको रिहाइको माग पनि गरेका छन् । यसैबीच केही एसियाली मुलुकले बर्मामा जारी तनाव समाधान गर्न प्रयास गरिरहेका छन् । तर समाधान निस्कने छाँटकाँट छैन ।
डेढ महिनादेखि जारी आन्दोलनले बर्मेली अर्थव्यवस्थालाई ब्यापक असर गरेको छ । कोभिड-१९ का कारण थलिएको अर्थतन्त्र पुनर्जागृत हुने कोसिसमा रहँदा सेनाको कदमले निम्ताएको तनावले त्यसमा व्यवधान पुर्याएको छ । बर्मामा लगानी गर्ने उदेश्यले भित्रिएका विदेशी क्रमशः आफ्नो योजनाबाट पछि हटिरहेका छन् । यसै सातामात्रै संयुक्त राष्ट्रसंघले बर्मामा बढिरहेको खाद्यान्न र इन्धनको मूल्यले गरिब परिवारहरूलाई असर गर्ने चिन्ता व्यक्त गरेको छ ।
बर्माको सैन्य नेतृत्वको ध्यान बिग्रदो अर्थतन्त्रतर्फ छैन । बरु नागरिक आन्दोलनलाई कसरी दबाउने भन्नेमै केन्द्रित छ । त्यसकै नतिजा हो बिहीबार सार्वजानिक स्थलमा वाइफाइ बन्द गरिएको । त्यसो त डाइवेइलगायत धेरै सहरमा इन्टरनेट काटिएको छ । बर्माकै टाकिलेक न्यूजमा थाइल्यान्डबाट ल्याइएको फाइबरको तार काटिँदै गरेको फोटो प्रकाशित भएको थियो । यद्यपि त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
त्यसो त बर्माभित्र नै सूचनाको पुष्टि हुनसक्ने अवस्था छैन । पत्रकारको गिरफ्तारी र अखबारहरू बन्द हुने क्रममा कुनै पनि घटनाको पुष्टि हुन सजिलो छैन । संयुक्त राष्ट्रसंघका अनुसार करिब ३७ पत्रकार गिरफ्तार भएको र तीमध्ये १९ जना अझै हिरासतमा छन् । बर्मेली सैन्य नेतृत्वको आदेशमा कयौँ अखबार बन्द गरिएका छन् । तर सरकारी सञ्चार माध्यम भने सेनाको आदेशबाट प्रभावित छैन ।
सूकीमाथिको अनुसन्धान
बर्मेली सरकारी टेलिभिजन च्यानलले बुधबार सूकीमाथि अनुसन्धान भइरहेको बतायो । अनुसन्धानको विषय सूकीले लिएको गैरकानुनी भुक्तानी भएको उल्लेख गरियो । सूकीमाथि विभिन्न व्यपारीबाट पाँच लाख ५० हजार अमेरिकी डलर लिएको आरोप छ ।
प्रोपर्टी डेभलपर माङ विकले सूकीलाई आफूले सन् २०१९ देखि २०२० को बीचमा पचास हजार देखि दुई लाख पचास हजार अमेरिकी डलरसम्म दिएको दाबी गरेका छन् । ‘माङ विकको बयानका आधारमा आङ साङ सूकीमाथि अनुन्धान भइरहेको छ । सूकीले घूस लिएको प्रमाणित भए उनलाई भ्रष्टचारसम्बन्धी प्रचलित कानुन अनुसार कारबाही गरिनेछ,’ सरकारी टेलिभिजनको बुलेटिनमा भनियो ।
बर्मेली सैन्य सरकारका प्रवक्ताले गत साता मात्रै सूकीमाथि घूस लिएको आरोपमा अनुसन्धान भइरहेको बताएका थिए । उता सूकीका वकिलले भने सेनाको आरोप हास्यस्पद रहेको प्रतिक्रिया दिए ।
सुकीमाथि लगाइएको आरोपलाई उनी र बेर्मली सेनाबीचको टक्करको नतिजाका रूपमा हेरिएको छ ।
७५ वर्षीय सूकी बेलायती साम्राज्यवादबाट बर्मालाई मुक्त गराउन मुख्य भूमिका खेल्ने आङ साङकी छोरी हुन् । पिताले बर्माबाट बेलायतीलाई हटाउन संघर्ष गर्दा सूकी सन् १९८८ देखि नै बर्मेली सेना, उसले गर्ने गरेको कूको विरुद्ध संघर्ष गर्दै र जेल पर्दै आएकी छिन् ।
सूकी र बेर्मेली नागरिक कूविरुद्ध आन्दोलनमा रहे पनि सेनाले भने आफ्नो कदमको बचाउ गर्दै आएको छ । सेनाले नोभम्बर ८ मा भएको निर्वाचनमा धाँधली भएको र त्यसको नेतृत्व सूकीले लिएको आरोप लगाएको छ । आफू सत्तमा धेरै नहरहने र ताजा निर्वाचन गराउने भने पनि त्यसका लागि मिति तोकिएको छैन ।
बर्मामा लोकतन्त्र पुनःस्थपनाका लागि संर्घषरत रहेकी सूकी भने सेनाले गराउने भनेको निर्वाचनमा सहभागी नहुन सक्छिन् । भ्रष्टचारको आरोप खेपिरहेकी सूकीमाथि अनधिकृत वाकीटाकी राखेको आरोप पनि छ । त्यस्तै उनले कोभिड-१९ सम्बन्धी प्रोटोकल पालना नगरेको पनि आरोप छ । यदि यी आरोप प्रमाणित भए, उनलाई बेर्मली राजनीतिबाट बर्जित गरिनेछ । (रोयटर्सबाट)

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया