बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

महानगरबासीले दिएको धेरै जिम्मेवारी पूरा गरेको छु - मेयर शाक्य

फाइल फोटो

काठमाडौँ - काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरबासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेको दाबी गरेका छन् । 

मेयर शाक्यले सबै वडालाई प्रशस्त बजेट दिएर आफूले काम गर्ने उचित वातावरण बनाई दिएको पनि बताए । 

शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १४ को वडा कार्यालय भवन उद्घाटन गर्दै उनले महानगरबासीको सबै चाहना पूरा गर्न नसकेपनि उनीहरुले सुम्पेको धेरैजसो जिम्मेवारी आफूले पूरा गरेको बताए । 

त्यसका लागि सबै वडामा प्रशस्त बजेटको व्यवस्था गरेको उनको भनाई थियो । मेयर शाक्यले सबै वडा कार्यालयहरुलाई काम गर्न उचित वातावरण बनाएर आफूले अभिभावकीय भूमिका निर्वाह गरेको जिकीर पनि गरे । 

सबै वडाहरुलाई प्रशस्त बजेट दिने, काम गर्ने वातावरण बनाउने र त्यसका लागि आवश्यक टिम परिचालन गर्ने काममा आफूले कमी हुन नदिएको उल्लेख गर्दै मेयर शाक्यले सबै काम सम्पन्न नै भईसक्यो भनेर भने आफूले नभन्ने बताए । 

उनले विकास, निर्माणको काम निरन्तरको काम भएको भन्दै त्यसमा आफूले सकेको योगदान दिएको बताए । 

उनले मद्दा मामिलाका कारण पनि महानगरपालिका अन्तरगतका सबै वडा कार्यालय बनाउन नसकिएको स्पष्टीकरण दिए । 

मेयर शाक्यले भने, ‘सबै पूरा गर्न नसकेपनि धेरै जिम्मेवारी पूरा गरेको छु । मैले टिमलाई व्यवस्थित ढंगले परिचालित गरेको छु । सबैलाई उचित जिम्मेवारी दिएर काम गर्ने वातावरण बनाइ दिएका छौं । सबै वडा कार्यालयहरुलाई प्रशस्त बजेट पनि दिने, जिम्मेवारी पनि दिएर काम गराएका छौं । र, अभिभावकीय भूमिका खेल्नुपर्छ भनेर सोही अनुसार काम गरिरहेका छौं ।’

कार्यक्रममा बोल्दै उपमेयर हरिप्रभा खड्गीले सहरलाई व्यवस्थित बनाउन ढल व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेर सबै वडा कार्यालयहरुको कामलाई अघि बढाइएको बताए ।