किसानलाई आत्मनिर्भर बनाउन दूध र मासुकाे उत्पादन बढाइँदै

बागलुङ- पशुपन्छी तथा माछापालन गरिरहेका बागलुङका २३६ किसानले अनुदान पाएका छन् । बागलुङ नगरपालिकाले पशुपन्छी तथा माछापालन गरेर गुजारा चलाउँदै आएका २३५ किसान र एक सहकारीलाई एकै पटक अनुदान रकम उपलब्ध गराएको हो ।
बागलुङ नगरपालिका–४ ओडारचौरमा रहेको श्री कृष्ण गाई भैँसी फार्म उद्योगमा २०० किसान जम्मा गरेर नगरपालिकाको पशु शाखाले किसानलाई नगद तथा चेक सोमबार उपलब्ध गराएको हो । दूध तथा मासुको उत्पादन बढाउनका लागि पाडापाडी संरक्षण कार्यक्रमअन्तर्गत १४ किसान र एक सहकारीले हुर्काइरहेका पाडापाडीका लागि अनुदान उपलब्ध गराइएको छ । अनुदान पाउने एकमात्रै सहकारी वडा नं ११ को जैविक कृषि सहकारी हो । प्रतिपाडापाडी रु १० हजारका दरले किसानलाई अनुदान उपलब्ध गराइएको हो । श्री कृष्ण गाईफार्मले मात्रै १८ वटा पाडापाडी एकै ठाउँमा हुर्काइरहेको छ ।
त्यस्तै मासुकै उत्पादनको लागि १०० किसानले अनुदान पाएका छन् । प्रतिबाख्रा रु छ हजारका दरले किसानले अनुदान पाएका हुन् । कुखुरापालन गरेर खर्च चलाइरहेका ४२ किसानले रु चार हजार ३०० का दरले अनुदान रकम पाएको पशु शाखाका प्रमुख शशीधर शर्माले बताए । बङ्गुरपालन गरेका ३६ किसानलाई रु छ हजारका दरले अनुदान रकम उपलब्ध गराइएको छ ।
माछापालनमा सहभागी किसानले प्रतिपोखरी पुरानोले मर्मत खर्च रु १० हजार र नयाँ पोखरीका लागि रु २५ हजारका दरले अनुदान पाएका छन् । ४३ वटा माछापोखरीका लागि अनुदान उपलब्ध गराइएको उनले बताए। किसानको प्रोत्साहनका लागि घर घरमै पुगेर व्यवसाय जाँच गरेपछि अनुदान उपलब्ध गराइएको उनले बताए ।
बागलुङ नगरपालिकाको रु १० लाख र नेपाल सरकारको थप रु १५ लाख गरी नगरले एकैपटक रु २५ लाख किसानको हातमा पुर्याएको हो । “पशुपन्छी पालिरहेकाको समस्या भएन, माछाका लागि नयाँ पोखरीको हामी निरन्तर अनुगमन गर्नेछाँै”, उनले भने, “अनुदान रकम पनि किसानकै पैसा हो, आफ्नै खर्च सम्झेर सदुपयोग गर्न र आम्दानी बढाउन भनेका छौँ ।” अनुदान रकम वितरण गर्दै नगरप्रमुख जनकराज पौडेलले पशुपालनजस्तो कठिन काम गरेर उपभोक्ताको भोक मेटाउन सहयोग गरेको भन्दै किसानलाई धन्यवाद दिए ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया