आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

एडीबी सहयोगका परियोजनाको समीक्षा

काठमाडौँ– सरकार र एसियाली विकास बैंक (एडीबी)ले संयुक्त रूपमा एडीबीको सहयोगका विकास परियोजनाहरूको प्रगति समीक्षा गरेका छन् । दुई दिन चलेको पोर्टफोलियो समीक्षा बैठकमा अर्थमन्त्री जनार्दन शर्मा, एडीबी नेपाल मिसनका राष्ट्रिय निर्देशक आर्नो कोश्वा तथा सरकारका उच्च पदस्थ अधिकारीहरू, परियोजना प्रमुख तथा एडीबी नेपाल मिसनका कर्मचारीहरू सहभागी थिए । 

‘अर्थ मन्त्रालयको नेतृत्वले नियमित पोर्टफोलियो समीक्षा बैठकमार्फत् परियोजना कार्यान्वयन सुधारका लागि जोखिम र अवरोध पहिचान तथा यसको सम्बोधन र सम्बन्धित मन्त्रालय तथा निकायका अधिकारीको सक्रिय भूमिकाको हामी प्रशंशा गर्दछौं,’ राष्ट्रिय निर्देशक कोश्वाले भने ।

नेपालमा एडीबीको अपरेसन सन् २०२१ को अन्त्यसम्म ३.४ अर्ब अमेरिकी डलर तथा विकास परियोजनाको संख्या ३० रहेको छ । गत वर्ष, एडीबीले कुल २५.५ करोड अमेरिकी डलरमध्ये १६.५ करोड अमेरिकी डलर खोपका लागि ऋणस्वरूप प्रदान भएको थियो । सन् २०२२ मा एडीबीको प्रतिवद्धता हस्ताक्षर हुने क्रममा रहेका ९ परीयोजना (जुन यस वर्ष हस्ताक्षर हुने अपेक्षा गरिएको छ) समेत गरी ९३.२ करोड अमेरिकी डलर पुग्ने अपेक्षा गरिएको छ । 

‘सहायता बढेसँगै परियोजना कार्यान्वयन प्रगतिमा पनि सुधार हुन आवश्यक छ । कोभिड–१९ महामारीले परियोजना कार्यान्वयनमा पारेको प्रभाव बुझ्न सक्छौं,’ कोश्वाले भने, ‘समीक्षा बैठकका क्रममा सहमत भएका कदममार्फत् समयमा परियोजना कार्यान्वयन हुनेमा हामी आशावदी छौं ।’ 

एडीबीले सन् २०२१ म २७.२९ करोड अमेरिकी डलर शोधभर्ना दिएको छ । ३० परियोजनामा ३.४ अर्ब अमेरिकी डलर लगानी उपलब्धतामध्ये ६६ प्रतिशत ठेक्का लागेको छ भने ४२ प्रतिशत सन् २०२१ को डिसेम्बरको अन्तिमसम्म शोधभर्ना भएको छ । सन् २०२१ म ४३.१५ करोड अमेरिकी डलरको ठेक्का लागेकोमा यो अंक सन् २०२० को तुलनामा सुधार हो ।  

समीक्षा बैठकसँगै आयोजित एक विशेष समारोहकाबीच अर्थसचिव मधुकुमार मरासिनीले सन् २०२१ मा राम्रो कार्यसम्पादन गर्ने परियोजनालाई सम्मानित गरेका छन् । विपद् उत्थानशील विद्यालय परियोजना, समुदायिक व्यवस्थापनमा सिंचित कृषि क्षेत्र (अतिरिक्त लगानी) तथा ग्रामीण सम्पर्क सुधार परियोजनाले उत्कृष्ट परियोजना व्यवस्थापन समूह अवार्ड हासिल गरेका छन् । कोभिड–१९ महामारीका बाबजुद लैंगिक समता, सामाजिक समावेशीता, वातावरणीय स्थायित्व र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर प्रभावकारी परीयोजना व्यवस्थापनमा उत्कृष्टताका लागि सम्मानित गरिएको एडीबीले जनाएको छ ।