चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गर्दै मन्त्रिपरिषद्
काठमाडौं – सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना (१२ सय मेगावाट, जलाशययुक्त) आफै बनाउने भएको छ । केपी ओलीको सरकारले यो आयोजना चिनियाँ कम्पनी सीजीजीसीलाई दिएको थियो ।
ऊर्जा मन्त्रालय स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद्को बैठकमा नेपाल सरकार आफैले निर्माण गर्ने प्रस्ताव लैजाने तयारी भएको छ । नेपाल सरकारबाट नेपाल विद्युत् प्राधिकरणलाई दिन मन्त्रालयले गरेको गृहकार्य अन्तिम चरणमा पुगेको छ ।
हालका अर्थ मन्त्री जनार्दन शर्मा ऊर्जा मन्त्री हुँदा राजीनामा दिइसकेको सरकारले बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीलाई दिने समझदारी पत्रमा हस्ताक्षर (एमओयू) गरेका थिए । पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बखत ऊर्जा मन्त्री रहेका शर्माले आफ्नै मन्त्रालयका सचिव र सहसचिवहरुले उक्त एमओयूमा हस्ताक्षर गर्न नमानेपछि आफै हस्ताक्षर गरेका थिए । दाहालले प्रधानमन्त्रीबाट राजीनामा गरेको एक सातापछि शर्माले ‘ऊर्जा मन्त्रीको हैसियत’ मा उक्त समझदारी गरेका थिए ।
उक्त अवैध समझदारीलाई पछि शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि मन्त्रिपरिषद्बाट पारित गराई वैधानिक बनाइएको थियो । पछि नेकपा एमाले र माओवादी केन्द्रले गठबन्धन गरी चुनाव लड्ने घोषणा गरेपछि तत्कालीन उपप्रधान तथ ऊर्जा मन्त्री कमल थापाले चिनियाँ कम्पनीसितको सम्झौता रद्द गर्न पुनः मन्त्रिपरिषद् लगेका थिए । तत्कालीन प्रधानमन्त्री देउवाले थापाको प्रस्ताव सदर गरेका थिए । आफ्नै मन्त्रिपरिषद्बाट सीजीजीसीसँगको सम्झौतालाई वैधानिक बनाएका देउवा आफैले बदर गरेका थिए ।
सीजीजीसीलाई दिने निर्णय खारेज गरेर देउवाले स्वदेशी लगानीमा निर्माण गर्न सकिने÷नसकिनेबारे अध्ययन गर्न योजना आयोगका तत्कालीन उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा एउटा कमिटी गठन गरेका थिए । अर्थ सचिव, राष्ट्र बैंकका गभर्नर र प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक (हालका पनि) समेत रहेको उक्त कमिटीले स्वदेशी लगानीमा बूढीगण्डकी निर्माण गर्न सकिने प्रतिवेदन दिएको थियो ।
तत्कालीन प्रधानमन्त्री ओलीले घिसिङको दोस्रो कार्यकाल थप नगर्नुका धेरै कारणमध्ये उक्त वाग्ले कमिटीले स्वदेशी लगानीमा बनाउन सकिने गरी प्रतिवेदन दिनु पनि एक थियो, जुन कमिटीमा घिसिङ पनि थिए । संविधान जारी भएपछि भएको पहिलो संसदीय निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच तालमेल गरी गठन भएको सरकारले बूढीगण्डकीलाई पुनः सीजीजीसीलाई नै दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्मा ठाडो प्रस्ताव गए पनि तत्कालीन मुख्य सचिव डा. सोमलाल सुवेदीले ‘पहिले नीति बनाउनुपर्ने अनि मात्र दिन सकिने’ भन्दै नीति बनाउन एक समिति पनि गठन भएको थियो । उक्त समितिले कुनै प्रतिवेदन बुझाएन ।
मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद्ले नै सीजीजीसीलाई दिने भनेर निर्णय गरेको सम्झौताका लागि नीति मात्र नभएकाले हस्ताक्षर हुन नसकेकाले पुनः पुरानो निर्णय खारेज गर्न मन्त्रिपरिषद् लैजान लागिएको हो । ‘जहाँबाट निर्णय (सीजीजीसीलाई दिने) भएको थियो, त्यहींबाट पुनः निर्णय आवश्यक पर्ने भएकाले मन्त्रिपरिषद् लैजानुपरेको हो,’ मन्त्रालयका एक अधिकारीले भने ।
यो आयोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) फ्रान्सको ट्रयाक्टवेलले सन् २०१६ को डिसेम्बरमा तयार गरी सरकारलाई बुझाएको थियो । सन् २०१५ को मूल्यअनुसार बूढीगण्डकीको कूल लागत २५९३ मिलियन अमेरिकी डलर (तत्कालीन अमेरिकी डलरको मूल्यमा २ खर्ब ५९ करोड रुपैयाँ) थियो । त्यतिबेला एक अमेरिकी डलर बराबर एक सय रुपैयाँ थियो भने अहिले १२३ रुपैयाँ छ । हालको अमेरिकी डलरको मूल्यमा बूढीगण्डकीको लागत अद्यावधिक गर्ने हो भने तीन खर्ब १८ अर्ब रुपैयाँ पर्न आउँछ ।
सरकारले बूढीगण्डकी संरचना क्षेत्रका लागि करिब ४९ हजार रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । यसका लागि मात्र ३३ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । अन्य खर्चसमेत गरी बूढीगण्डकीका लागि मात्र राज्यले ३५ अर्ब रुपैयाँ खर्च गरिसकेको ऊर्जा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका एक अधिकारीका अनुसार बूढीगण्डकीसम्बन्धी मन्त्रिपरिषद्ले निर्णय गरिसकेपछि यो आयोजना पुनः प्राधिकरणलाई दिइनेछ । यसअघि पनि प्राधिकरणले अध्ययन गर्दै आएको थियो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला प्राधिकरणबाट झिकेर विकास समितिमा ल्याइएको थियो । विकास समितिले नै ठेक्कापट्टा गरी यसको डीपीआर तयार पार्न लगाएको हो ।
जग्गा अधिग्रहण कार्य करिब पूरा भएको र डुबान क्षेत्रको केही जग्गा मात्र बाँकी रहेको मन्त्रालयले जनाएको छ । लालपूर्जा हराएका, लगत संकलन नभएका आदि कारण अधिग्रहण हन नपाएका हुन् । ती कार्य पनि अब तुरुन्त अघि बढाइने भएको छ ।
डीपीआरअनुसार यो आयोजनाको निर्माण गर्न आठ वर्ष लाग्नेछ । बूढीगण्डकी स्वदेशी लगानीमा निर्माण गर्ने भनी तत्कालीन अर्थ मन्त्री विष्णुकुमार पौडेलले सात वर्षअघि देखि पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर उठाउन सुरु गरेका थिए । गत माघ महिनासम्मको तथ्यांकअनुसार पेट्रोलियमबाट बूढीगण्डकीका लागि ८८ अर्ब रुपैयाँ उठिसकेको छ ।

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_LysmaNlpP3_wtuyrormlpkilk8vdfuzyzndvtvihd7zclxw04yhkaofafo1if6g77jabog2.jpg)
प्रतिक्रिया