मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

हामीले भेला गर्दा बालुवाटार बस्‍ने ओलीलाई पीडा भएछ : अष्टलक्ष्मी शाक्य

काठमाडौँ  : नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफ्नो पक्षले भेला गर्दा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पीडा भएको भन्दै टिप्पणी गरेकी छन् । एमालेको खनाल–नेपाल समूहले गरेको गुट भेलालाई सम्बोधन गर्दै शाक्यले उनले उक्त भेला गुटको नभएर एमालेको भएको दाबी गरेकी हुन् । 

‘हामीले भेला गर्दा बालुवाटार बस्ने ओलीलाई पीडा भएछ । त्यसपछि सबैलाई कारबाही गर्छौ भन्‍नु भएछ । त्यति मात्रै नपुगेर विज्ञप्ति पनि जारी भएछ,’ उनले भनिन्, ‘म सबैलाई भन्‍न चाहन्छु। पार्टीले आयोजना गरेको भेलामा आउन कोही डराउनु पर्दैन । यो कुनै गुटको भेला होइन एमालेको भेला हो । केन्द्रीय समितिले आयोजना गरेको भेला हो । ढुक्क भएर बस्नु होला ।’ 

उनले अध्यक्ष ओली समूह भेला आयोजना गर्दा डर र धम्की सहनु पर्ने भन्दै प्रश्न गरिन् । ‘के भेलामा आउन डराउनु पर्ने ? धम्की सहनुपर्ने ?  म त्यसको निन्दा गर्न चाहन्छु,’ उनले भनिन्, ओलीलाई म अनुरोध गर्न चाहन्छु । तपाईले २८ गते जुन भेला गरेर हामी सबै पदाधिकारीलाई हटाउने काम गुटको भेलाबाट गर्यो । के त्यो विधानसम्बत् त हो ? त्यो निर्णयलाई फिर्ता लिएर यो भेलामा आइदिनुस् ।’  उनले पार्टीलाई एक बनाउनकै लागि अदालतको फैसलापछि ढिला नगरी पार्टीमा फर्किएको पनि दाबी गरिन् ।