बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

चितवन- भरतपुर महानगरपालिका–९ को वडा कार्यालय नजिक मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । केन्द्रीय बसपार्कबाट गौरीगञ्जतर्फ जाँदै गरेको ना ५८ प ६३३४ नम्बरको मोटरसाइकलले आज दिउँसो करिब १ बजे साइकल यात्री सर्लाही पिपरियाका ४५ वर्षिय कलाम शेखलाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट घाइते भएका शेखको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा साँझ ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनकी प्रहरी निरीक्षक कमला नरालले जानकारी दिइन् । मोटरसाइकल र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तैगरी, नारायणगढ–मुग्लिन सडक खण्डको घुमाउनेमा रोकिराखेको डिब्बा ट्रक त्रिशुलीमा खसेको छ । ना ६ ख ४९३९ नम्बरको खाली ट्रक आज बिहान त्रिशुली नदीमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए । 

‘गाडी बिग्रिएर दुई/तीन दिन देखि रोकेर राखेको रहेछ । रोकिराखेको ट्रक कसरी त्रिशुलीमा खस्यो भनेर अहिलेसम्म खुलेको छैन’, उनले भने, ‘गाडीको साहु र चालकसँग सम्पर्क भएको छ । उनीहरु आएपछि मात्रै थाहा हुन्छ ।’ उनकाअनुसार ट्रकका चालक पनि काठमाडौँ छन् ।

पानीमा डुबेको ट्रकलाई निकालेर पाखामा राखिएको छ । स्थानीयले बताएअनुसार आज बिहान ट्रक त्रिशुलीमा खसेको अवस्थामा भेटिएको थियो । त्रिशुलीमा कसरी खस्यो भन्ने विषयमा अनुसन्धान भइरहेको रानाले बताए ।