मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

नवीन्द्रराज जोशीको दुई पोस्ट : 'स्वास्थ्य अवस्था गम्भीर छ, चमत्कारिक सुधार हुने आशा गरौँ'

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन आज उनकै फेसबुकबाट दुई वटा पोस्ट भएका छन् । एउटा पोस्ट छ- जोशीको मृत्यु भएको भन्‍दै हल्‍ला फैलिएपछि त्यसबारे गरिएको खण्डन र अर्को पोस्ट छ- जोशीको स्वास्थ्य अवस्था चमत्कारिक सुधार हुने आशा गरौँ ।

नर्भिक इन्टरनेशनल हस्पिटलले जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जनाएको छ । जोशीको फेसबुकबाट पोस्ट उनको परिवार र सचिवालयले गरेको बुझिएको छ । 'नवीन्द्र दाइको स्वास्थ्य स्थिति अझै स्थिर छ । चमत्कारिक सुधार हुने आशा गरौँ । सबै मिलेर शीघ्र स्वास्थ्य लाभको कामना गरौँ । भगवानसँग प्राथना गरौँ' पहिलो पोस्टमा लेखिएको छ ।

Posted by Nabindra Raj Joshi on Tuesday, 16 March 2021

दोस्रो पोस्टमा भने जोशीको मृत्युबारे फैलिएको हल्लाको खण्डन गरिएको छ । लेखिएको छ 'नेपाली कांग्रेसका नेता श्री नविन्द्रराज जोशीज्यूको स्वास्थ्यलाई लिएर सामाजिक सञ्जालमा आएका समाचारहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उहाँको अहिले पनि थापाथलीस्थित नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेकाले भ्रमपूर्ण समाचारहरूमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छौँ । कुनै पनि व्यक्तिको निधन जस्तो अति संवेदनशील विषयमा अनुमानको भरमा समाचार सम्प्रेषण नगरिदिनु हुन सरोकारवाला सबैमा अनुरोध गरिन्छ ।'

नेपाली कांग्रेसका नेता श्री नविन्द्रराज जोशीज्यूको स्वास्थ्यलाई लिएर सामाजिक सञ्जालमा आएका समाचारहरूप्रति हाम्रो गम्भीर...

Posted by Nabindra Raj Joshi on Tuesday, 16 March 2021

जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको इकागजलाई बताए । 'उहाँको स्वास्थ्य अवस्था गम्भीर छ तर बाहिर हल्‍ला आए जस्तो होइन । ब्रेनमा समस्या छ, प्रेसर लो छ फोक्सो र मुटुको चाल अहिलेसम्म स्थिर छ ।'

फागुन १३ गते राती स्वास्थ्यमा समस्या भएपछि जोशीलाई वीर अस्पतालमा परिक्षण गर्दा मस्तिष्कमा रगत जमेको देखिएको थियो । वीरले नर्भिकलाई रेफर गरेपछि १४ गतेदेखि जोशीको त्यहाँ उपचार भइरहेको छ । 

‘केही दिनको उपचारपछि उहाँको अवस्थामा सुधार आएको थियो । आफैंले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो ।,’ अस्पतालले भनेको छ, ‘तर, अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको छ ।’