अब भिजिट भिसा कसलाई, के–के छन् शर्त ?

काठमाडौं–पछिल्लो समय खाडी मुलुकहरूमा भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा जानेहरूको संख्या बढ्नुका साथै अलपत्र पर्न थालेपछि त्यसका लागि कडाइ गरिएको छ । गृह मन्त्रालयले विभिन्न शर्त पूरा गरेपछि मात्रै भिजिट भिसामा जान पाउने नयाँ नियम बनाएको हो ।
मन्त्रालयले भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्थालाई निरुत्साहित गर्न भिसामा कडाइ गरिएको स्पष्ट पारेको छ । विदेश पुगेपछि काम नपाएर अलपत्र परेको भन्दै विदेशबाट गुनासाहरू आएपछि सरकारले भिजिट भिसा प्राप्तिका लागि शर्तहरू राखेर कडाइ गरेको हो ।
सरकारले भिजिट भिसाका लागि भ्रमणको उद्देश्य तथा कार्यक्रम, आधारभूत मापदण्ड प्रक्रिया र कागजात पूरा भए/नभएको हेर्नेछ । त्यस्तै राहदानी, वैध भिसा, हवाई टिकट, गन्तव्यसम्मको बोर्डिङ पास, होटल/आवास व्यवस्था, भ्रमण अवधिको खर्च, भ्रमणसम्बन्धी कागजात हेर्ने व्यवस्था राख्न कार्यदलले सिफारिस गरेको छ ।
तर, सरकारले यसरी शर्तहरू राखेपछि विभिन्न कोणबाट टिकाटिप्पणी आइरहेका छन्। संविधान विपरित र मानवअधिकार विपरित प्रावधान भएको टिकाटिप्पणी भएको हो । तर गृह मन्त्रालयले भने यी शर्तहरू संविधान र मानवअधिकार विपरित नभइ नेपाली नागरिकहरूको सुरक्षाको लागि भएको स्पष्ट पारेको छ । कार्यदलका संयोजक एवं गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले विभिन्न प्रलोभनमा परेर भिजिट भिसामा खाडी मुलुक जाने र अलपत्र पर्ने गरेको भन्दै कार्यदलले नागरिक सुरक्षाका लागि प्रतिवेदन बनाएको बताए ।
विदेश जाने नेपाली नागरिकलाई अलपत्र नपार्न सिमित प्रावधान बनाउनु राम्रो भएको उनको भनाइ छ। सरकार नागरिकहरू प्रतिको दायित्वबाट विमुख हुन नमिल्ने भन्दै वैदेशिक रोजगारीमा जाने महिलाहरूलाई परिवार र आफन्तजनको अनुमतिबाट मात्रै विदेश जान पाउने प्रावधान प्रतिवेदनमा रहेका उनले बताए ।
पोखरेलले नियम पूरा भएका व्यक्तिहरूले मात्रै भिजिट भिसामा जाने पाउने बुँदा समावेश गरी अध्यागमन कार्यालयलाई बुझाएको जानकारी दिए । वैदेशिक रोजगारीमा जानेहरूको प्रक्रिया भन्दा भिजिट भिसामा जाने प्रक्रिया सहज भएकोले पनि धेरैले भिजिट भिसाको प्रयोग गरेको र विदेश पुगेपछि अलपत्र पर्ने गरेको उनको बुझाइ छ ।
विदेश जाँदा वैदेशिक रोजगारीको प्रावधानबाट गए मात्रै हरेक नागरिक सुरक्षित हुने गृह मन्त्रालयले जनाएको छ। सहसचिव पोखरेलले वैदेशिक रोजगारीमा जानेहरूका लागि अहिले आयश्रोत देखाउनु पर्ने कुरा प्रतिवेदनमा उल्लेख गरेको र गन्तव्य देशको भाषा, कक्षा १२ सम्मको योग्यता भएको व्यक्तिलाई प्राथमिकतामा राख्न पनि प्रतिवेदनमा भनिएको बताए।
कार्यदलले भिजिट भिसामा विदेश जाने महिलाका लागि अतिरिक्त शर्त समेटेर ‘भिजिट भिसा कार्यविधि÷निर्देशिका’ बनाउन सरकारलाई सिफारिस गरेको छ । फागुन १८ गते कार्यदलले गृहमन्त्री बालकृष्ण खाणलाई ५१ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो । जसमा भिजिट भिसासम्बन्धी अहिलेको प्रावधानलाई कडा पार्नुपर्ने र महिलाको हकमा थप शर्त समावेश गरेर ‘भिजिट भिसा कार्यविधि/निर्देशिका’ ल्याउन सुझाव दिएको छ । कार्यदलले भिजिट भिसाका लागि बोलाउने पक्षले आमन्त्रण वा प्रायोजन खुल्ने कागजात, विदेश यात्राको अनुभव तथा भ्रमण गरेका मुलुक, भ्रमण गर्नेको नेपालमा पेशा÷व्यवसाय, रोजगारी, वार्षिक औसत आय तथा करसम्बन्धी विवरण, शैक्षिक योग्यता तथा भाषिक दक्षता (अंग्रेजी, अन्य र खाडी मुलुकको हकमा अरेबिक भाषा, गन्तव्य मुलुकमा रहेका नाता, सम्बन्ध र परिवार, भ्रमणको प्रकृति (व्यक्तिगत, संस्थागत र सरकारी) सहित ९ वटा विषयलाई समावेश गर्न सुझाव दिइएको छ ।
यसैगरी वैध राहदानी, भ्रमण तालिकासहितको दुईतर्फी हवाई टिकट र भ्रमणसम्बन्धी कागजात, पेस गरेको राहदानीलगायत कागजात सम्बन्धित यात्रुकै भए÷नभएको यकिन गर्ने प्रविधिको व्यवस्था अध्यागमनमा राख्न भनिएको छ । सम्बन्धित यात्रुको अध्यागमन सूचना प्रणाली (नेपाली पोर्ट) मा कालोसूचीमा भएन÷भएको यकिन गर्ने, कालोसूचीमा भएको देखिएमा प्रहरीको जिम्मा लगाई अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाउनुपर्ने भनिएको छ ।

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

प्रतिक्रिया