मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

चैत्र ५ गतेपछि सत्ता समीकरणले मूर्तरूप पाउँछ : पुन

'माओवादी, कांग्रेस र जसपाबीच गठबन्धन बन्छ'

काठमाडौँ : नेकपा(माओवादी केन्द्र) का नेता वर्षमान पुनले चैत्र ५ गतेपछि सत्ता समीकरणले मूर्तरूप पाउने बताएका छन् । मंगलबार नेकपा(माओवादी केन्द्र) को संसदीय दलको बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले चैत्र ५ गते बस्ने जनता समाजवादी पार्टीको बैठकपछि नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र जसपा, नेपाल बीचको सत्ता समीकरणले मूर्तरूप पाउने बताए । 

तीन दलबीच गठबन्धन हुने दाबी गर्दै उनले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध संयुक्त आन्दोलन गरिएका कारण तीन दलीय गठबन्धन प्राकृतिक हुने पनि बताए । उनले भने, ‘५ गते जसपाको बैठक छ । उहाँहरूको बैठकपछि सत्ता समीकरणले मुर्त रूप पाउँछ । माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाको बीचमा गठबन्धन बन्छ ।'

'हामी सबैले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक हो' उनले अगाडि भने, 'यसलाई सच्याउनुपर्छ भनेर एकै ठाउँमा उभिएर त्यसबारेमा एउटै धारणा बनाएको सन्दर्भमा, आ–आफ्नो ढंगले आन्दोलन गरेको सन्दर्भमा र संसद पुर्नस्थापना भइसकेको सन्दर्भमा यो एउटा प्राकृतिक गठबन्धन पनि हो ।’ नेता पुनले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेका कारण विश्वासको मत लिने र कार्यकारी प्रमुख हुने नैतिक आधार गुमिसकेको पनि बताए ।